प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् ।
अमेरिका समर्थित एक संगठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण सुरु गर्ने बताइरहेकासमय बिहीबार बिहानैदेखि ‘वेस्ट व्यांग’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो ।
इजरायली सेना प्रमुखले भने, ‘एक गर्भवती इजरायली महिलाको ज्यान जाने गरी भएको आक्रमणको दोषी पत्ता लगाउने क्रममा कब्जा गरिएको पश्चिम किनारामा छापा मार्ने क्रम जारी छ र सडक अवरुद्ध भएको छ ।’
गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।
इजरायलले मार्च २ मा गाजा प्रवेशमा सबै सहायता रोकेको थियो भने मार्च १८ मा पुनः सैन्य कारबाही सुरु गरेको थियो ।
ह्युमन राइट्स वाच (एचआरडब्लु) का अन्तरिम कार्यकारी निर्देशक फेडेरिको बोरेलोले बिहीबार एक विज्ञप्ति जारी गर्दै भने, ‘इजरायलको नाकाबन्दीले सैन्य रणनीतिलाई उछिनेर विनाशको स्रोत बनेको छ ।’
एचआरडब्लुले भनेको छ, ‘गाजाको नागरिक संरचना भत्काउने र प्यालेस्टिनी जनसंख्यालाई एउटा सानो क्षेत्रमा केन्द्रित गर्ने इजरायली सरकारको योजनाले मानवताविरुद्ध जारी अपराध, जातीय सफाया र नरसंहारको घृणित कार्यलाई व्यापक रूपमा बढाउनेछ ।’
उत्तरी गाजाका ४३ वर्षीय प्यालेस्टिनी अमिर सेल्हाले इजरायलले रातभर तीव्र गोलाबारी गरेको बताए । उनले भने, ‘यो क्षेत्र मानिसहरू र टेन्टहरूले भरिएको छ र यहाँ ट्यांकका गोलाहरू चौबीसै घण्टा प्रहार भइरहेका छन् ।’
उनले बिहानै इजरायली सेनाको ड्रोनले आफ्नो छिमेकमा पर्चा खसालेको र त्यहाँका बासिन्दालाई दक्षिणतर्फ जान चेतावनी दिएको बताए । इजरायल र हमासबीच १९ महिनासम्म चलेको युद्धका क्रममा गाजाका अधिकांश नागरिक कम्तीमा एकपटक विस्थापित भएका छन् ।
इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा कब्जामा लिइएका बाँकी बन्धकहरूलाई मुक्त गर्न हमासलाई दबाब दिने उद्देश्य राखेको बताएको छ । अमेरिकी सहयोग प्राप्त गैरसरकारी संस्था गाजा ह्युमेनिटेरियन फाउन्डेसनले इजरायली अधिकारीसँगको वार्तापछि यसै महिनाबाट गाजामा मानवीय सहायता वितरण सुरु गर्ने जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच युरोपेली सदस्य राष्ट्रले मंगलबार एक संयुक्त वक्तव्य जारी गर्दै इजरायली योजनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
बस्ती खाली गर्न आदेश
हमासशासित गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायलले मार्च १८ देखि पुनः आक्रमण सुरु गरेयता दुई हजार ८७६ जनाको मृत्यु भएको जनाएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणमा इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो ।


विश्व खबर 



















