भारतीय वायु सेना (आईएएफ)ले पाकिस्तानविरुद्धको अपरेसन सिन्दूर जारी रहेको बताएको छ ।
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएको भोलिपल्ट आइतबार (मे ११) सूचना जारी गरी आईएएफले अपरेसन अझै जारी रहेको जनाएको हो ।
शनिबार साँझ मात्र भारत र पाकिस्तानले एकअर्काविरुद्ध कारबाही नगर्ने सहमति गर्दै युद्धविराम सम्झौता गरेका थिए । त्यसयता पाकिस्ताले भारतीय सीमामा गोलाबारी कायमै राखेको छ ।
यसलाई भारतले युद्ध विराम उल्लंघन गरेको भन्दै पाकिस्तानसँग क्रुद्ध छ ।
सूचनामा भनिएको छ, ‘भारतीय वायु सेना (आईएएफ) ले अपरेसन सिन्दूरमा तोकिएका कार्य सटिक र व्यावसायिक ढंगले सफलतापूर्वक सम्पन्न गरेको छ । यी कार्य राष्ट्रिय उद्देश्यअनुरूप सोचविचार र विवेकपूर्ण रूपमा गरिएका थिए। अपरेसन अझै जारी रहेकाले विस्तृत जानकारी उचित समयमा दिइनेछ । आईएएफ सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अपिल गर्दछ ।’
जम्मु–कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंककारी हमलामा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ नाम दिएर सैन्य कारबाही थालेको थियो। त्यसपछि पाकिस्तानले पनि शनिबार (मे १०) भारतविरुद्ध ‘अपरेसन बुन्यान–अन–मार्सुस’ घोषणा गरेको थियो ।
अमेरिकालगायत देशको मध्यस्थतामा त्यही दिन साँझ भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएको भनिएको थियो । यद्यपि यो टिक्नेमा कतिपयले शंका पनि गरिरहेका छन् ।


विश्व खबर 

















