काठमाडौं । प्रतिनिधिसभाको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले विभिन्न समसामियक विषयमा आफ्ना धारणा राखेका छन् ।
सांसद भगवती चौधरीले सुनसरीको गढी गाउँपालिका पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यथेष्ट बजेट विनियोजन गर्न आग्रह गरिन् ।
सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले छिटो विधेयक पारित गर्नुपर्ने बताए ।
सांसद भीमप्रसाद आचार्यले तिलौराकोट उत्खनन् र पुनःनिर्माणको पखाइमा रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोडदिए ।
सांसद मनिष झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तरराष्ट्रिय रंगशालाको निर्माणकार्य ढिलो भएकाले यथासक्य छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । यसका साथै उनले रंगशाला निर्माण र खेलकुदका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सामसी गाउँपालिका खडेरीको चपेटामा परेको उल्लेख गर्दै त्यहाँ सिँचाइ व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसद महेन्द्रकुमार रायले ध्यानाकर्षण गराए ।
त्यसैगरी सांसद महेशकुमार बर्तौला नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए । उनले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधारमान्दै त्यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
सांसद माधव सापकोटाले धान रोप्ने तयारी भएको समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गरे । उनले किसानले बेचेको दूधको पैसा डिडिसीले छ महिनादेखि नदिएकाले तत्काल किसानलाई भुक्तानी दिइयोस् भने ।
सांसल मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको र त्यसको प्रभाव नेपाललाई पनि पर्नसक्ने भएको चर्चा गर्र्दै आफ्ना नागरिकको जिउज्यानको सुरक्षाका पक्षमा आपसी सहमतिका साथ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गरे ।
उनीहरूले भारत–पाकिस्तान लडाइँमा गोरखा सेना प्रयोग नगर्न सरकारमार्फत ध्यानाकर्षण गराएका छन् ।























