काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
उक्त बैठकमा कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम र गभर्नर नियुक्तिबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
एक महिनादेखि रिक्त नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओलीले ढिलाइ गरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको स्रोत बताउँछ ।
पार्टी सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तिलाई लम्बाएर आफू अनुकुल नियुक्त गर्नसक्ने सम्भावित आकलनले पदाधिकारी बैठक बोलाइएको छ ।
त्यस्तै नीति तथा कार्यक्रममा कांग्रेसको मिश्रित धारणा छ । यसबारे पनि छलफल हुँदैछ । बैठक शुक्रबार देउवा निवास बूढानीलकण्ठमा बिहान ९ः०० बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्























