images
images
  • यसरी गराए नीति तथा कार्यक्रममाथि सांसदहरूले ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानर्कषण गराएका छन् ।

    बैठकको शून्य समयमा सांसदहरूले छिमेकी राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वमा नेपाल सरकारको कूटनीतिक कौशलता, सडक, पुल निर्माण, खानेपानीको अभाव, विद्युत् प्राधिकरण घाटामा गएको सन्दर्भलगायत सासामयिक विषयमा ध्यानार्कषण गराए ।

    सांसद नारायणप्रकाश (एनपी) साउदले भारत र पाकिस्तानबीच पछिल्लो समय विकसित सम्बन्धको वर्तमान स्थितिमा पाकिस्तानी उच्चस्तरीय सैन्य प्रतिनिधिको नेपाल भ्रमण तत्कालका लागि स्थगन गर्न सुझाव दिए ।

    सांसद डोलप्रसाद (डिपी) अर्यालले भारतमा बसोबास गरिरहेका नेपालीका विषयमा सरकार संवेदनशील हुन आग्रह गरे ।

    उनले भारतमा नेपाली दम्पतीबाट जन्मिने बालबालिकालाई नागरिकता प्राप्तिदेखि नेपालामा उद्योग व्यवसाय लगानी गर्नेलगायत विषयमा भइरहेको असहजताबारे ध्यानार्कषण गराए ।

    सांसद तारा लामा तामाङले राष्ट्रियसभाबाट पारित भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८०, लाई यसै सत्रको सदनमा यथाशीघ्र छलफलका लागि प्रस्तुत गर्न माग गरे ।

    सांसद दामोदर पौडेल वैरागीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय स्थापना र सञ्चालनको माग गरे ।

    सांसद दिनेशकुमार यादवले नेपाल–भारतको कोशी सम्झौताअनुसार भारतमा पर्ने नहरको दक्षिण बाधतर्फ सडक निर्माण भएको तर नेपालमा पर्ने नहरमा सडक निर्माण नभएको बताए ।

    उनले सप्तरीवासीले सडक निर्माणमा भइरहेको ढिलाइका कारण हिलो र धुलोबाट सास्ती खेप्न परेको भन्दै सदनमार्फत सरकारको ध्यानार्कषण गराए ।

    सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेवल पुल भारत सरकारबाट निर्माण सम्पन्न हुने चरणमा पुगेको बताए ।

    उनले त्यहाँ नेपालतर्फ एकीकृत जाँचचौकी र सुरक्षा व्यवस्थाका लागि आवश्यक पूर्वाधार निर्माणमा विलम्ब नगर्न सुझाव दिँदै यथाशीघ्र आवश्यक प्रक्रिया पूरा गर्न माग गरे ।

    सांसद देवेन्द्र पौडेलले बागलुङको उत्तरगङ्गा जलाशययुक्त आयोजना र यस जिल्लाका विभिन्न सडक मार्गहरु चालु आर्थिक वर्षमा सम्पन्न गर्नेगरी बजेट व्यवस्था गर्न माग गरे ।

    सांसद धुव्रबहादुर प्रधानले नवलपरासीमा पिउने पानीको अभाबबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउँदै डिप बोरोङमार्फत तत्काल पानी उपलब्ध गराउन माग गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images