images
images
  • ओलीले देउवालाई भने– ढुक्क हुनुस्, बिहीबारसम्म भट्ट गभर्नर बन्छन्

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो वचनमा कायम रहेका छन्। बिहीबारभित्र नेपाल राष्ट्र बैंकले नयाँ गभर्नर पाउने लगभग पक्का भएको छ। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘तपाईंले भन्या मान्छे’ अर्थात् डा. गुणाकर भट्टलाई बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।

    सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच वैशाख ३ गते भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको थियो। त्यसअनुसार उनले वैशाख ५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा पनि दिएका थिए। तर कार्यवाहक गभर्नर डा. नीलम ढुंगानाले राजीनामा ‘होल्ड’ गरेर राखेकाले अझै स्वीकृति भएको छैन।

    आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेट भएको थियो। स्रोतका अनुसार गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति देउवाले चासो राखेपछि ओलीले बुधबारभित्र राजीनामा स्वीकृत गरेर बिहीबार नियुक्ति गर्ने बताएको जानकारी ती नेताले दिएका छन्। ‘प्रधानमन्त्रीले देउवालाई भने– तपाईं ढुक्क हुनुस्, बिहीबारसम्म गभर्नर नियुक्त हुन्छ’, देउवानिकट एक नेताले भने।

    देउवा ओलीको वचन सुनेपछि आफू निकट नेताहरूसँग सल्लाह गरी बूढानीलकण्ठ फर्किएका थिए। यद्यपि, गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले नाम छनोट गरेर मन्त्रिपरिषद्मा पठाउनु आवश्यक छ।

    उक्त समिति पहिलोपटक पूर्व गभर्नर विजयनाथ भट्टराई र डा. विश्व पौडेलसहित गठन भएको थियो। तर बैठक हुनुअघि नै भट्टराईले वैशाख १० गते राजीनामा दिए। समिति अपूर्ण भएपछि प्रक्रिया रोकिएको थियो। सरकारलाई रिक्त सदस्य पूर्ति गर्न एक साता लाग्यो र वैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई समितिमा नियुक्त गर्‍यो।

    सोमबार देउवाले अर्थमन्त्री पौडेललाई बूढानीलकण्ठस्थित निवासमा बोलाएका थिए। स्रोतका अनुसार गभर्नरमा सिफारिस गर्ने नामबारे दुवैबीच छलफल भएको थियो। ती नेताले भने, ‘अब प्रधानमन्त्री र अर्थमन्त्री दुवैले कार्यवाहक गभर्नरलाई भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिन लाग्नुभएको छ।’

    स्रोतका अनुसार बुधबारसम्म भट्टको राजीनामा स्वीकृत गरी बिहीबार मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने तयारी छ। त्यसका लागि तीन जनाको नाम सिफारिस समितिबाट मन्त्रिपरिषद्मा पठाइनेछ र तीमध्ये एक जनालाई गभर्नरमा नियुक्त गरिनेछ।

    राष्ट्र बैंक चैत २५ यता गभर्नरविहीन अवस्थामा छ। यसबीचमा मौद्रिक नीतिबाट लिएर वित्तीय स्थायीत्वसम्म असर परेको छ। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गभर्नरमा डा. गुणाकर भट्ट नै हुने पक्का भएको बताए। ‘गभर्नरमा डा. भट्ट नै हो’, उनले भने।

    देउवाले सोमबार बिहान नै डा. भट्टलाई बोलाएर यसै साता गभर्नर नियुक्त हुने जानकारी गराइसकेको स्रोतको दाबी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images