काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग संवाद सुरु गरेका छन् ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेशका लागि ढोका बन्द गरेको भन्दै वामदेवले माधवसँग संवाद सुरु गरेको बताएका छन् ।
राष्ट्रिय सभा सदस्यसमेत रहेका वामदेवले पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग संवाद सुरु गरेको बताएका हुन् ।
‘पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिष्ट पार्टीहरू एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा एकीकृत समाजवादीसँग एकताका निम्ति छलफल भइरहेको छ,’ वामदेवले रासससँगको अन्तर्वार्तामा भनेका छन्, ‘अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरु भएको छ ।’
यसअघि पार्टी एकताका लागि एमालेसँग पहल गरेको तर उसैले आज आएर ढोका बन्द गरेको उनले गुनासो गरेका छन् । ‘केही समय पहिला एमालेसँग पार्टी एकताका निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो,’ उनले भनेका छन्, ‘त्यहीअनुसार तयार भइयो, उहाँहरूले नै ढोका बन्द गर्नुभयो ।’
उनले एमाले र एकीकृत समाजवादी एउटै पार्टी भएको बताएका छन् । उनले भनेका छन्, ‘मेरा निम्ति एमाले र एकीकृत समाजवादी पनि एमाले नै हो । किनभने मैले निर्माण गरेका कार्यकर्ता र सँगै काम गरेका नेताहरू दुवै दलमा हुनुहुन्छ । –रासस























