काठमाडौं । विद्या भट्टराईले राजीनामा दिएसँगै शिक्षामन्त्री पद रिक्त बनेको छ । हिजो (सोमबार) बेलुका ५ बजे भट्टराईले राजीनामा दिएपछि शिक्षामन्त्री पद रिक्त बनेको हो ।
रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले डा.अञ्जान शाक्यलाई आगाडि सार्ने चर्चा चलेको छ ।
राष्ट्रिय सभा सदस्यसमेत रहेकी शाक्यले भने आफ्नो शिक्षामन्त्री बन्ने इच्छा नभएको बताएकी छन् । उनले आफू उक्त मन्त्रालयका लागि विज्ञ नभएको समेत बताइन् ।
प्रधानमन्त्री ओलीले शिक्षामन्त्री बनाउन सक्ने चर्चालाई भ्रामक भएको टिप्पणी गरेकी छन् । शाक्यले भनिन्, ‘म शिक्षामन्त्री बन्न इच्छुक छैन । शिक्षा मन्त्रालयका लागि म योग्य पनि होइन । मेरा आफ्नै जिम्मेवारी छन् । मैले गर्नुपर्ने कामकारबाही थुप्रै भएकोले त्यता (शिक्षामन्त्री)तर्फ मेरो ध्यान छैन । देशका लागि मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा केही गर्नुछ । त्यसबेगर मलाई शिक्षामन्त्री बन्नुछैन । मन्त्री बन्ने चर्चा, हल्ला झुटको सफेदमात्रै हो ।’
उनी अन्तर–व्यवस्थापिका संघ (आईपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट भर्खरै निर्वाचित भएकी छन् । उनले सोही पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको केही मत्यैक्यबीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी हुन् । उनको रिक्त पदका लागि एमालेले कसलाई पठाउँला भन्ने विभिन्न अड्कलबाजीबीच डा.अञ्जान शाक्यको चर्चा चलेको थियो । यसबारे उनले माथि नै प्रष्ट पारिसकेकी छन् ।
शाक्य उच्चशिक्षा हासिल गरेकी र राष्ट्रिय सभाकी विज्ञ सदस्य भएकोले प्रधानमन्त्रीले शिक्षामन्त्री बनाउन सक्ने चर्चा चलेको छ । यसअघि ओलीको किचन क्याबिनेटमा काम गरिसकेकी शाक्य अहिले राष्ट्रिय सभा सदस्य छन् ।
ओलीले उनलाई साली बनेर बोलाउने गर्छन् । त्यसैले शाक्यलाई ओलीको सालीको पनि ट्याग छ । खासमा उनी ओलीपत्नी राधिका शाक्यकी बहिनी भने होइनन् । अञ्जान शाक्य संखुवासभाकी हुन् ।





















