काठमाडौँ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ। एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो।
समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए।
“विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ”, उनले भने, “निष्पक्षताका लागि लड्नैपर्ने रहेछ । अब नयाँ ढङ्गले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ।”
एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको घलले बताए।
एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिइन्।
“उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ। उच्चस्तरीय समितिको वेभसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ”, उनले भनिन् “एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतवारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन्। आवेदनका लागि मङ्गलबारसम्म समय रहेको छ।”
थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको बताइन्। यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी काम सम्पन्न भएको थापाको भनाइ छ।


विश्व खबर 




















