काठमाडौं । प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवा परिवार थाइल्याण्डको बैंककमा छ ।
यसअघि सिंगापुरमा स्वास्थ्योपचार गराएका उनी यसपटक फलोअपका लागि बैंकक पुगेका हुन् । हिजो (आइतबार) देउवा आफ्नी पत्नी एवं परराष्ट्रमन्त्री डा.आरजु राणा र छोरा जयवीरसिंहसँगै बैंकक प्रस्थान गरेका थिए ।
राणाले आज (सोमबार) बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स्) इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप)को ८१औँँ सत्रमा भाग लिनेछन् ।
उक्त सत्र यहीँ बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेको छ । त्यसैले मन्त्री राणाले नै आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यक्रम यसअघि नै तय भएको थियो । सोहीअनुसार उनी एसिया तथा प्रशान्त क्षेत्रमा दिगो शहरी विकासका लागि क्षेत्रीय सहयोग विषयक संवादमा पनि सहभागी हुनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धनको नौ महिना कार्यकाल पूरा हुँदा पनि भएको सहमति कार्यान्वयनमा विलम्ब भएको भन्दै सत्तारूढ दलहरूबीच असन्तुष्टि बढेको छ ।
उनी सहभागी हुने कार्यक्रममा सभापति देउवा र उनका छोरा जयवीरसिंहको कुनै भूमिका रहने छैन । तर, देउवा परिवारको भ्रमणलाई लिएर मुलुकको राजनीतिक वृत्तमा भने हलचल मच्चिएको छ ।
एमाले–माओवादी सत्ता विघटन गत असार १७ मा भएको थियो । त्यतिबेला एक अमुख व्यापारीको घरमा मध्यराति कांग्रेस–एमालेलगायत केही साना दलहरूबीच सात बुँदे सहमतिसहित सत्ता गठबन्धन भएको थियो । ती सहमतिहरू हालसम्म कार्यान्वयनमा ल्याइएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्ता गठबन्धनको नौ महिना कार्यकाल पूरा हुँदा पनि भएको सहमति कार्यान्वयनमा विलम्ब भएको भन्दै सत्तारूढ दलहरूबीच असन्तुष्टि बढेको छ । मूलतः संविधान संशोधनको विषय पेचिलो बन्दै गएको छ भने प्रधानमन्त्री स्वयं यसप्रति विश्वस्त देखिँदैनन् ।
किनकि उनी संविधान संशोधनको विषयलाई लिएर कहिले प्रमुख प्रतिपक्षी माओवादीको साथ खोज्छन् भने कहिले २०८७ भन्दा अगाडि संशोधनको सम्भावना नरहेको जिकिर गर्छन् । बाँकी भएका सहमति कार्यान्वयनको सन्दर्भमा प्रधानमन्त्री ओलीले आजसम्म तत्परता देखाएका छैनन् ।
सहमति कार्यान्वयनमा हेलचक्र्याइँ र बहुमतको सरकारले अपेक्षित कार्य नगरेको भन्दै सर्वत्र आलोचना भएको छ । प्रमुख सत्तारूढ कांग्रेसका महामन्त्रीद्वय लगायतका शीर्ष नेताहरूले खुलेर विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले राज्यका संवैधानिक एवं प्रशासनिक संयन्त्रमा गर्ने हस्तक्षेपकारी भूमिकाप्रति देउवा असन्तुष्ट छन् । नियुक्ति, सरुवा र बढुवामा पनि ओली नै हाबी भएपछि कांग्रेस नेताहरूको विरोध सतहमा आएको छ ।
केहीदिन पहिले कांग्रेस महामन्त्री गगन थापाले बिचौलियाको महुँच प्रधानमन्त्रीको बेडरुममै हुने बताएका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओली अक्षम भएको टिप्पणी गर्दै आएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमै ओलीको कार्यशैलीप्रति चर्को आलोचना गरेका छन् ।
प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने ठोकुवा गरेका छन् । उनले एक टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए माओवादी केन्द्रले पूर्णरूपमा सघाउने बताएका छन् ।
त्यसयता प्रधानमन्त्री ओलीले पछिल्ला एमाले बैठकहरूमा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’का सरकार ढलाउने प्रयत्नहरू निष्फल भएको भन्दै ढुक्क राख्न खोजेका छन् । यसका साथै कांग्रेस सभापति शेरबहादुर देउवाको अडानका कारण एमाले सत्ता बाहिर नरहने विश्वास उनले पार्टी पंक्तिमा व्यक्त गरेका छन् ।
एमाले केन्द्रिय कार्यालय ललितपुरस्थित च्यासलमा सम्पन्न बैठकमा ओलीले कांग्रेस–एमाले सहकार्य आगामी २०८४ को आमनिर्वाचनसम्म जारी रहनसक्ने संकेत दिएका थिए । यद्यपि प्रधानमन्त्री हालै सम्पन्न बिमस्टेक सम्मेलनबाट उत्साहित देखिँदैनन् ।
प्रधानमन्त्री ओलीले राज्यका संवैधानिक एवं प्रशासनिक संयन्त्रमा गर्ने हस्तक्षेपकारी भूमिकाप्रति देउवा असन्तुष्ट छन् । नियुक्ति, सरुवा र बढुवामा पनि ओली नै हाबी भएपछि कांग्रेस नेताहरूको विरोध सतहमा आएको छ ।
उक्त सम्मेलनमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच झन्डै ३५ मिनेट एक्लाएक्लै साइडलाइन भेटवार्ता भएको थियो । स्रोतका अनुसार वार्ता सकारात्मक भए पनि त्यसले ठोस परिणाम दिन नसकेको कूटनीतिक वृत्तमा चर्चा छ । भारतीय पक्ष भने अझैँ ओलीको विकल्पबारे सोचिरहेको छ । मुख्यतया बीआरआईको सन्दर्भमा ओलीको स्पष्ट समर्थनले भारत चिन्तित बनेको देखिन्छ ।
यस्तोबेला प्रमुख सत्तारूढ कांग्रेस महामन्त्री थापा र शर्माले ओलीमाथि कडा आलोचना गर्दै आएका छन् भने नेताहरू शेखर कोइराला, कृष्णप्रसाद सिटौला, एनपी साउदलगायत सरकारप्रति विश्वस्त छैनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको बैंकक स्वास्थ्योपचार र भ्रमणले सत्ताको नयाँ खिचडी पाक्नेमा प्रतिपक्षी माओवादी केन्द्र आशावादी बनेको स्रोत बताउँछ भने सत्तासाझेदार एमाले त्रसित बनेको चर्चा छ ।
तथापि एमाले प्रमुख सचेतक महेश बर्तौला कांग्रेसले सत्ताको काँध नफेर्ने विश्वास व्यक्त गर्छन् । उनी भन्छन्, ‘उहाँको उपचारलाई लिएर राजनीतिक वृत्तमा सत्ता परिवर्तनको अफवाह फैलाइएको हो । यो सत्य होइन । हामीबीच भएको पूर्वसहमति कार्यान्वयनमा कांग्रेस–एमाले विश्वस्त छ । यति बलियो सरकार ढलाएर अस्थिरता निम्त्याउनु कांग्रेस–एमालेलाई छैन ।’
त्यस्तै प्रतिपक्षी माओवादी केन्द्रका महासचिव देव गुरुङ भने नेपालको तरल राजनीतिले जता पनि मोड लिने आशंका गर्छन् । ‘मुलुकको राजनीति निकै तरलिकृत बन्दै गएको छ । यस्तोबेला राजनीतिले नै नयाँ मोड लिनु नौलो होइन । तर, देउवाको भ्रमणले कस्तो परिणाम ल्याउँछ । अहिले भन्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘यद्यपि अध्यक्ष प्रचण्ड कमरेडले भनेझैँ नयाँ वर्षभित्रै सत्तामा केही न केही हुन्छ, आशा गरौँ ।’





















