images
images
  • ग्वार्कोमा ओभरपास बनाउनै मिल्दैन

    काठमाडौं : चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो।

    बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, विशेषगरी विकसित शहरमा दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण गर्दा सौन्दर्यीकरणलाई कायम राखेर बहुउपयोगी बनाइन्छ तर ग्वार्कोमा ओभरपास निर्माण गर्दा बहुउपयोगिता र जमिनमा खाली ठाउँ राख्न सकिने विषयलाई ध्यानै दिइएन।

    इन्जिनियरहरूका अनुसार ग्वार्कोमा निर्माणाधीन ओभरपास पुलको आकारमा निर्माण गर्नुपर्ने थियो तर निर्माणको ठेक्का पाएको कम्पनी एमरएस आशिष समानान्तर जेबीले दुईतर्फ पर्खाल बनाएर त्यसमा माटो भरेर संरचना निर्माण गरिरहेको छ। २०७८ साउन १८ गते गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले गरेको निर्माणपूर्वको प्रस्तावमा फ्लाइओभर बनाउने निर्णय गरेको छ । केन्द्रका तत्कालीन निर्देशक विजय जैसीका अनुसार फ्लाइओभर भनिए पनि ओभरपास बनाउने निर्णय भएको थियो।

    ‘फ्लाइओभर ब्रिज बनाउन महँगो पर्ने भएकाले इपिसी पर्खाल बनाएर बालकुमारीबाट सातदोबाटो जोड्ने गरी ओभरपास बनाउने निर्णय भएको हो । यसमा धेरै अध्ययन भएको छ । यो राम्रै हुन्छ’, उनले भने।

    नयाँ कम्पनीलाई ठेक्का दिँदा त्रुटि

    हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने भनाइलाई पुष्टि गर्ने गरी ओभरपास निर्माण गर्दा प्राविधिक त्रुटि भएको छ । केन्द्रका इन्जिनियर विक्रम पौडेलले सहरी क्षेत्रमा फ्लाइओभर ब्रिज (पुल) नै निर्माण गर्न उपयुक्त हुने भए पनि पहिल्यै ठेक्का लागेकाले अब केही गर्न नसकिने बताए।

    ‘शहरी क्षेत्रमा फ्लाइओभर निर्माण गर्दा राम्रो हुन्छ । पुलमुनिको खाली ठाउँलाई काममा लगाउन सकिन्छ तर केन्द्रमा म आएको धेरै भएको छैन । निर्णय पहिल्यै भएकाले केही भन्ने अवस्था छैन’, उनले भने।

    केन्द्रका पूर्वनिर्देशक जैसीले पनि ओभरपासको माटो झिकेर फेरि भर्ने काम लापरबाहीको परिणाम भएको स्वीकार गर्नुभयो । उनले भने, ‘नयाँ कम्पनीलाई ठेक्का दिएकाले यस्तो समस्या भएको हो । ओभरपास पनि राम्रैसँग बन्न सक्छ । नेपालमै पनि अरू केही स्थानमा यस्तो संरचना बनाइएको छ । यहाँ गल्ती भएकै हो ।’

    ‘ओभरपास बनाउनै मिल्दैन’

    विज्ञहरूले सहरी क्षेत्रको सौन्दर्यलाई दृष्टिगत गरी ओभरपासभन्दा फ्लाइओभर ब्रिज बनाउन सुझाव दिएका छन् । सडक सुरक्षाविज्ञ एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी र यातायातविज्ञ आशिष गजुरेलले ग्वार्कोमा निर्माणाधीन ओभरपास तत्काल रोकेर फ्लाइओभर पुल नै निर्माण गर्न सरकारलाई आग्रह गरे।

    प्रतिक्रिया दिनुहोस्

    images
    images