राजशाही : बंगलादेशमा सैन्य विद्रोहको हल्ला भइरहेका वेला सेनापतिको सक्रियता बढेको छ। बंगलादेशका सेनापति जनरल वकार-उज-जमानले मंगलवार सेनाका जवानहरूलाई सर्वोच्च त्याग गर्न तयार हुन आग्रह गरेका छन्।
यसअघि सेनापतिले अन्तरिम सरकारको मुख्य सल्लाहकार मोहम्मद युनुस र राजनीतिज्ञहरूलाई मतभेद अन्त्य गर्न चेतावनी दिएका थिए। बंगलादेशी समाचारपत्र ढाका ट्रिब्यूनले लेखेको छ‚ ‘जनरल वकार-उज-जमानले भने- बंगलादेशी सेनाका सबै सदस्यहरू आवश्यक पर्दा आफ्नो उच्च जिम्मेवारी पूरा गर्न तयार हुनुपर्छ।’
प्रधानसेनापतिले बिहीबार राजशाही छाउनीमा बंगलादेश इन्फेन्ट्री रेजिमेन्टका सातौं कर्णेलको समारोहलाई सम्बोधन गर्दै थिए। उनले भने, ‘इन्फेन्ट्री रेजिमेन्टले सन् १९७१ देखि नै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ।’ उनले चुनौतीको सामना गर्न सदैव तयार रहन रेजिमेन्टका सदस्यहरूलाई आदेश दिएका छन्।
देशमा सैन्य विद्रोहको अनुमान शुरु भएका वेला सेना प्रमुखको टिप्पणी यस्तो समयमा आएको हो। यसै हप्ता जनरल जमानले बंगलादेशको स्वतन्त्रता र सार्वभौमसत्तामा खतरामा परेको भन्दै चेतावनी दिएका थिए।
बंगलादेशका सेनापतिले देशका राजनीतिक दलले यसरी नै एकअर्कालाई आरोप लगाउने हो भने देशको स्वाधीनता र अखण्डता खतरामा पर्ने बताएका थिए।
उनले भने, ‘म देशलाई सुरक्षित हेर्न चाहन्छु। मैले तपाईंहरूलाई पहिल्यै चेतावनी दिन्छु‚ भविष्यमा तैंले हामीलाई यो जानकारी दिइनस् भनेर भन्न पाउनु हुनेछैन।’
उनले थप भने, ‘मेरो काम सकियो भन्ने लागेको थियो तर समाधान गर्न अझै समय लाग्नेछ।’ यसपछि जनरल जमानले आफूले बिदा लिने जानकारी गराए।
यस्तो अवस्थामा जनरल जमानले गर्न बाँकी रहेको अधुरो काम के हो भन्ने प्रश्न उठेको छ। यद्यपि उनले मोहम्मद युनुसमाथि विश्वास व्यक्त गर्दै डिसेम्बरसम्म स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आग्रह गरे।


विश्व खबर 


















