images
images
  • जनकपुरधाममा १५ दिने माध्यमिक परिक्रमा शुरु

    जनकपुरधाम : मिथिला माध्यमिक परिक्रमा शुरु भएको छ। बिहीबार धनुषाको कौचरीमा १५ दिवसीय ऐतिहासिक माध्यमिक परिक्रमा शुरु भएको हो।

    नेपाल र भारतका हजारौं संख्याका श्रद्धालु १५ ठाउँमा विश्राम गरी १३३ किलो मिटर पैदल यात्रा गर्छन्।

    यात्राका लागि आज धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी किर्तनसहित श्रद्धालु प्रस्थान गरेका छन् ।

    कौचरीको मिथिला विहारी, जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताए।

    बिहीबार हनुमानगढमा जम्मा हुने १६ गते शुक्रबार बिहानै कल्याणेश्वरको लागि यात्रु प्रस्थान गर्नेछन्। १७ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीले विश्राम गर्नेछन् भने १८ गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्नेछन्।

    त्यसैगरी १९ गते जलेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछ भने २० गते मडै, २१ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबल किशोर दासले बताए ।
    २२ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताए ।

    २३ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने २४ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन्। २५गते सतोखर, २६ गते औरही र २७ गते पुनः भारतको बिहारस्थित करुणा स्थानमा विश्राम तथा २८ गते बिसौलमा पुगेर विधिवत् रूपमा मध्यमा परिक्रमा समापन हुनेछ। अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुनेछ।

    परिक्रमा सहभागी श्रद्धालु परम्परागत बाजागाजा, झाँकी किर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका छन्। उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थलमा राति बास बस्छन्।

    १८औँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आएको छ। धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ। परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका पाप नष्ट हुने विश्वास छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images