नवलपुर : देवचुली–१६, रजहरका हरिप्रसाद सापकोटा अत्यन्तै जटिल र जीर्ण मानिएका सात प्रकारका रोग बोकेर हिँडिरहेका थिए। ३० वर्षीय सापकोटाको आन्द्रामा अल्सर, पिनास, न्यून रक्तचाप, दिसा नहुने र डिप्रेसनको समस्या थियो।
विभिन्न ठाउँमा अनेक थरी उपचार गर्दा पनि निको नभएपछि मृत्युको प्रतीक्षामा उनको लामो समय बित्यो। उनले तीन महिना भारत गएर उपचार गराए। ठिक नभएपछि आफूलाई निको नहुने रोग रहेछ भन्ने ठानेर मृत्युको पर्खाइमा नेपाल फर्किए तर उनमा बाँच्ने उत्कट चाहना थियो। त्यसैले थप उपायको खोजीमा भौँतारिए।
सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, अन्तिम आश प्राकृतिक चिकित्सा र योगमा थियो। त्यसका लागि उनी पोखरा गए, जहाँ डा. चन्द्रकान्त सुवेदीलगायत प्राकृतिक चिकित्साप्रेमीले सञ्चालन गरेको चिकित्साबाट उनी तीन महिनाको उपचारबाट पूर्णरूपमा स्वस्थ भए। त्यसपछि उनले एउटा प्रतिज्ञा गरे, यस्तै खालको प्राकृतिक चिकित्सालयको विकास गर्ने र जीवन त्यसैमा समर्पित गर्ने। अनि देवचुलीको रजहरमा जन्म्यो सामुदायिक प्राकृतिक चिकित्सालय।
स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर जन्मेको यो चिकित्सालयको २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए। ‘रोग अनेक, उपचार एक तथा आहार नै औषधी, औषधी नै आहार’ भन्ने मन्त्रका साथ स्थापित यो चिकित्सालय अहिले देशकै नमुना बनेको छ।
यहाँ हालसम्म मुलुकको उच्च ओहोदामा पुगेका सयौँ व्यक्तिले उपचार गराइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँबाट नियमित परामर्श लिइरहनुभएको दाबी गरिन्छ। दिल्लीको मेदान्त अस्पतालबाट उपचार असम्भव भनी घर फर्काइएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनीकै सभामुख तुलाराम घर्ती, १२ दिनमा ११ थरी औषधी छोडेर निरोगी भएका पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसञ्चारमन्त्रीहरू राम कार्की र रेखा शर्मासहित नेता, कलाकारलगायत देशविदेशबाट हजारौँले यहाँबाट नयाँ जीवन प्राप्त गरेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताए।
कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यो चिकित्सालयले ख्याति कमाएको थियो। दुई वर्षको दुधे बालकदेखि मुटुको शल्यक्रिया गरेर अक्सिजनको निबुलाइजर लगाएका ८९ वर्षीय वृद्धसहित ७८९ जना कोभिड सङ्क्रमित बिरामी सबै निको भएर घर फर्केको यो संस्थामा १० वर्षदेखि कार्यरत डा. आजाद पुरीले बताए।
अहिले यो चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारी गरिएको छ। नेपाल संस्कृत विश्वविद्यालय मातहत रहने गरी शिक्षण अस्पताल सञ्चालन गर्न बजेट, भौतिक पूर्वाधार, जनशक्ति कुनै पनि अभाव नहुने र सम्बन्धनको मात्र पर्खाइमा रहेको सापकोटाले बताए।


विश्व खबर 



















