images
images
  • ठमेलमा क्यूआरटी प्रहरीमाथि आक्रमण: दुई पक्राउ, अखिल नेता फरार

    काठमाडौं–ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ परेका छन्, जबकि मुख्य योजनाकार मानिएका अखिल (अनेरास्ववियु) नेता कमल जोशी फरार रहेका छन्।

    पक्राउ पर्नेहरू दिनेश सिग्देल र रमेश फुलारा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए। दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) का विद्यार्थी हुन् र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध रहेका छन्।

    घटनामा संलग्न समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको प्रहरीको क्विक रेस्पोन्स टीम (क्यूआरटी) का जवानहरू माथि आक्रमण गरेको थियो। आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइते भएका छन्। उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ।

    प्रहरीका अनुसार, आक्रमणको नेतृत्व अनेरास्ववियुका नेता कमल जोशीले गरेका थिए। जोशी अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा अस्कलका पूर्वस्ववियु सभापति हुन्। उनी सहित ६/७ जनाको समूहले प्रहरीमाथि कुटपिट गरेको र प्रहरीको मोटरसाइकल लडाएर लौरो समेत फालिदिएको बताइएको छ।

    जोशी हालसम्म फरार रहेका छन् भने प्रहरीले उनको खोजी तीव्र बनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images