images
images
  • भारतको असममा मिनीबस र कन्टेनर ट्रक ठोक्किँदा २४ जनाको मृत्यु, ११ घाइते

    काठमाडौं– भारतको असममा शुक्रबार मिनीबस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

    काजिरङ्गा राष्ट्रिय निकुञ्ज नजिकै भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दुई महिलासमेत रहेका छन् । दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

    दुर्घटनास्थलको निरीक्षण गर्न पुगेका असम सरकारका मन्त्री अतुल बोराले दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको र ११ जना घाइते भएको जानकारी दिएका छन् ।

    उनका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। यद्यपि दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

    समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमध्ये केही कलेजका विद्यार्थीसमेत रहेका छन् । उनीहरू कक्षा सकिएपछि घर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

    एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रिय राजमार्ग–७१५ अन्तर्गत कोहोरा रेन्जको हातीकुली टी–इस्टेट नजिकै रहेको रोङाजन क्षेत्रमा मिनीबस र कन्टेनर ट्रक ठोक्किएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images