कृषि विकास बैंकको ५८औँ वार्षिक उत्सवको अवसरमा माघ २१ गते सोमबारदेखि कृषि विकास बैंक कर्मचारी संगठन नेपाल, केन्द्रीय समितिको आयोजनामा हुन लागेको ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ ।
केन्द्रीय समितिले बैंकमा आइतबार एक कार्यक्रमको आयोजना गरेर ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । २१ माघदेखि २३ माघसम्म चन्द्रागिरी नगरपालिका ७ को माहांकाल ब्याडमिन्टन कभर्डहलमा हुने प्रतियोगीतामा केन्द्र, उपत्यका र सात वटै प्रदेशको गरी १ सय ३० बढी महिला र पुरुष खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । ब्याडमिन्टन प्रतियोगिता, मैत्रीपूर्ण र प्रतिस्पर्धात्मक गरेर २ प्रकारले हुने भएको छ ।
उद्घाटन सत्रमा कृषि विकास बैंकका सम्पूर्ण संघ संगठनका पदाधिकारी, कृयाशील, भूपू सिनियरदेखि जुनियर कर्मचारीसम्मको मैत्रीपूर्ण ब्याडमिन्टन खेल हुनेछ । त्यसपछि सातवटै प्रदेशका सहभागी खेलाडीहरूको खेलका साथै विभिन्न संघसंस्थाहरूबीच कर्पोरेटस्तरीय प्रतियोगिता हुनेछ । प्रतियोगितामा सहभागी भई विजेता हुने समूहलाई ट्रफीका साथै मेडल तथा नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणि घिमिरेले सधैँभरि काममा ब्यस्त रहने कर्मचारीहरूको खेलले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत पुग्ने वताए । यसले बैंकको बृद्धि विकासमा पनि टेवा पुग्ने उनको भनाइ छ । कर्मचारी संगठनले २०७२ साल देखि निरन्तर रुपमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको छ ।
ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र राष्ट्रिय कर्मचारी महासंघका महासचिव प्रेम प्रसाद खनालले संयुक्त रूपमा गर्नेछन् ।


विश्व खबर 


















