images
images
  • नरेशले ममतालाई सधैं अरू महिलासँग तुलना गरेर अपमान गर्थे !

    अमेरिकामा कार्यरत नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । उनकी साथीले ममताका पति नरेश भट्टले दमनकारी व्यवहार गर्ने गरेको खुलासा गरेकी हुन् ।

    ‘क्राइम स्टोरीज विथ न्यान्सी ग्रेस’कार्यक्रममा ममताकी साथी नाडिया नाभारोले नरेश भट्टमाथि निकै गम्भीर आरोप लगाएकी हुन् ।

    क्राइम स्टोरीज विथ न्यान्सी ग्रेस कार्यक्रममा ममताकी साथी नाभारोले नरेशबारे निकै गम्भीर आरोप लगाइन् । उनका अनुसार नरेश स्वभावले इर्ष्यालु, नियन्त्रणकारी र मानसिक रूपमा हिंस्रक थिए।

    नाभारोले खुलासा गर्दै भनिन्, ‘नरेशले सधैं ममतालाई अरू महिलासँग तुलना गरेर अपमान गर्थे,’ उनी थप्छिन्, ‘उनी ममताको तौलबारे टिप्पणी गर्थे, अरू महिलासँग तुलना गर्थे । नरेशले सार्वजनिक रूपमा ममताको आत्मसम्मान गिराउने प्रयास गर्थे ।’

    एक दिन नाभारो र ममताले सँगै मेकअप गरेका थिए । त्यसपछि नरेशले दुवैबारे टिप्पणी गर्दै नाभारोलाई ए प्लस र आफ्नी श्रीमती ममतालाई सी माइनस रहेको बताएका थिए ।

    उनका अनुसार नरेशले भनेका थिए, ‘नाडिया, तिमी त ए प्लस जस्ती छ्यौ मेरो वाइफ ममता सी माइनस मात्र हो ।’

    यो सुनेपछि ममता झुटो मुस्कान दिएर तत्काल आफ्नो कोठाबाहिर निस्किएकी थिइन् । ‘उनी रोइरहेकी थिइन् । नरेशले आफूलाई यसरी पहिलोपटक अपमान गरेको उनले बताएकी थिइन् । तर, यो पहिलोपटक होइन भन्ने मलाई राम्रोसँग थाहा थियो’ नाभारोले भनिन् ।

    नाभारोले ममता र नरेशले नेपाली सांस्कृतिक हिसाबले मागी विवाह गरेको बताइन् । नाभारोले थपिन्, ‘नरेशले बुझिसकेका थिए कि, ममताजस्तो सुन्दर, शिक्षित र सक्षम महिलासँग उनी सामान्य अवस्थामा विवाह गर्न सक्दैनथे ।’

    नाभारोका अनुसार नरेश औसतभन्दा तल्लो स्तरका व्यक्ति थिए । पढाइमा उनको कुनै डिग्री थिएन । उनी प्रहरी एकाडमीमा उत्तीर्ण हुन सकेनन् ।

    नरेशले आफूले साइबर सेक्युरिटीमा जागिर खाएको भन्दै ठूलो कुरा गर्थे तर, प्रहरी अनुसन्धानले उनी केही समयअघिसम्म ग्यास स्टेसनमा काम गर्ने खुलेको छ ।

    ममताको रहस्यमयी हत्या

    भर्जिनियामा बस्ने २८ वर्षीया ममता काफ्ले भट्ट जुलाई महिनादेखि बेपत्ता भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    अनुसन्धानको क्रममा प्रहरीलाई ममताका पति नरेशमाथि शंका उत्पन्न भयो । नरेशलाई अगस्ट महिनामा ममतालाई लुकाएको आरोपमा पक्राउ गरिएको थियो, तर थप अनुसन्धानपछि प्रहरीले उनलाई हत्या र शव टुक्राटुक्रा पारेर लुकाएको अभियोग लगाएको छ ।

    नरेश हाल प्रिन्स विलियम काउन्टी जेलमा छन्, जहाँ उनलाई कुनै धरौटीबिना नै थुनामा राखिएको छ । तर, ममताको शव अझै फेला परेको छैन, जसले घटनालाई अझ रहस्यमयी बनाएको छ ।

    मंगलबारको कार्यक्रममा प्रस्तोता न्यान्सी ग्रेसले आश्चर्य व्यक्त गर्दै भनेकी थिइन्, ‘कसरी एक पतिले आफ्नै श्रीमतीलाई यति धेरै क्रूर रूपमा अपमान गर्न सक्छ, जबकी ममता स्पष्ट रूपमा उसकै स्तरभन्दा धेरै माथि छिन् ?’

    मनोवैज्ञानिक डा. जोन डेलाटोरका अनुसार नरेशजस्ता पुरुषहरू आफ्नै असुरक्षाका कारण महिलाको आत्मबल घटाउन खोज्छन् ।

    उनले भने, ‘यदि महिलाले बढी शक्ति र आत्मनिर्भरता देखाइन् भने यस्ता पुरुषले उनलाई मानसिक रूपमा कमजोर बनाउने प्रयास गर्छ ।’

    नरेशलाई हत्या आरोपमा आउँदो सेप्टेम्बरमा अदालतमा प्रस्तुत गरिनेछ । प्रहरीले अझैसम्म ममताको शव फेला पार्न सकेको छैन, तर घटनाको अनुसन्धान जारी राखेको छ । ममताका साथी, परिवार र अमेरिकामा रहेका नेपाली समुदायले न्यायको माग गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images