images
images
  • अमेरिकाबाट देशनिकाला हुने साढे १४ लाखमध्ये १३ सय ६५ जना नेपाली आप्रवासी

    काठमाडौं – आप्रवासीहरुलाई देश निकाला गर्ने नारालिएर राष्ट्रपति चुनीएका डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका पुगेका/बसेका साढे १४ लाख भन्दा धेरै आप्रवासीहरुलाई देश निकाला गर्दैछन् ।

    त्यसमध्ये करिब एक हजार ३०० भन्दा धेरै नेपालीहरु पनि रहेको अमेरिकाको अध्यागमन विभागले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    कागजातबिना बसेका लाखौँ आप्रवासीलाई कुनै पनि हालतमा निकालिछाड्ने अठोट लिएका ट्रम्पको निर्देशनपछि देशभर धरपकड अभियान चलाइएको छ ।

    अहिलेसम्म अमेरिकाले १४ लाखभन्दा बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने प्रक्रिया थालिसकेको छ। अमेरिकास्थित अध्यागमन विभागले सार्वजनिक गरेको विवरणअनुसार संसारभरका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरिँदैछ ।

    यसरी निकालिनेहरूको सूचीमा एक हजार ३६५ जना नेपाली रहेका छन् । यो सूचीमा दक्षिणी छिमेकी भारतबाट १७ हजार ९४० जना र उत्तरी छिमेकी चीनबाट ३७ हजार ९०८ जना छन् ।

    दक्षिण एसियाको अर्को मुलुक बंगलादेशका चार हजार ८३७ जना भुटानका १२२ जना पाकिस्तानका सात हजार ७६० जना र श्रीलंकन तीन हजार ६५ जना छन्।

    ट्रम्पको अभियानका कारण संसारभरबाट करोडौं खर्च गरेर अमेरिका छिरेका आप्रवासीको बिजोग हुने निश्चित भएको छ । अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा अधिकारीलाई ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने क्रम तीव्र बनाउन भनिसकेको छ।

    अहिले अमेरिकामा दैनिक सय हाराहारीमा आप्रवासी पक्राउ पर्दैछन् । अब त्यो संख्या बढाएर दैनिक १५ सयसम्म पुर्‍याउने योजना छ ।

    आइतबारमात्रै अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट विभाग (आइस) ले ९५६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको थियो । शनिबारको तुलानमा यो अत्यधिक हो । शनिबार आइसले २८६ जना र शुक्रबार ५९३ जनालाई पक्राउ गरेको थियो । गत बिहीबार ५३८ जना समातिएका थिए ।

    ट्रम्प प्रशासनले हरेक क्षेत्रीय कार्यालयका लागि दैनिक ७५ जना अवैध आप्रवासीलाई पक्राउ गर्न निर्देशन दिएको छ । दिइएको लक्ष्य पूरा नगरे अधिकारीहरू कारबाहीमा पर्नेछन् ।

    यसअघि विद्यालय, अस्पताल र मठमन्दिरसहितका संवेदनशील क्षेत्रमा पक्राउ नगर्ने पुरानो नीति पनि खारेज गरिएको छ । यी क्षेत्रबाट पनि अब कागजात नभएका आप्रवासी समातिने छन् । ट्रम्प प्रशासनले अमेरिका आएको दुई वर्ष नपुगेका आप्रवासीलाई पक्राउ गरी देशनिकाला गर्ने नियम पनि ल्याएको छ ।

    ट्रम्प प्रशासनले आइस अधिकारीहरूलाई चौबीसै घण्टा पक्राउ अभियान चलाउन निर्देशन दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images