
चितवन – चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या गएको आर्थिक वर्षमा तीन लाख नाघेको थियो ।
यो आर्थिक वर्षको अवस्था सन्तोषजनक छैन । आर्थिक वर्षको आधा अवधि सकिँदा गत वर्षको तुलनामा निकुञ्ज घुम्ने पर्यटकको संख्या घटेको पाइएको छ ।
चितवन आउने बाटोको दुर्दशाका साथै निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन र प्रचारप्रसारमा ध्यान नपुग्दा पर्यटक घटेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
गत वर्ष साउनदेखि पुससम्म ६ महिनामा कुल एक लाख ४८ हजार ३९१ जना पर्यटकले चितवन निकुञ्ज घुमेका थिए । त्यो बेला ९० हजार ११४ जना नेपालीले निकुञ्ज घुमेका थिए ।
त्यसपछि विदेशी पर्यटकको संख्या ४३ हजार ४२५ रहेको थियो । नेपाली र विदेशीका अलावा त्यो समयमा सार्क राष्ट्रका कुल १४ हजार ८२२ जनाले निकुञ्ज घुमेका थिए । तर यो पटक निकुञ्ज घुम्ने स्वदेशीको संख्या उल्लेख्य मात्रामा घटेको छ ।
चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल एक लाख १० हजार ३४५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् ।
गत वर्षको तुलनामा पर्यटक संख्या धेरै नै घटेको देखिन्छ । निकुञ्जले स्वदेशी, विदेशी र सार्क राष्ट्रका पर्यटकको अलग अलग विवरण राख्छ । निकुञ्ज घुम्ने स्वदेशी पर्यटक यो पटक ५३ हजार १०३ जना छन् ।
गत वर्षको तुलनामा यो पटक स्वदेशी पर्यटक ३७ हजार कम भएका छन् । सार्क देशका पर्यटकको संख्या पनि घटेको छ । यो पटक सार्क राष्ट्रका कुल १० हजार ८५० जनाले चितवन निकुञ्ज घुमेका छन् ।
तर यो अवधिमा विदेशी पर्यटकको संख्यामा थोरै भए पनि सुधार देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ४६ हजार ३९२ विदेशी पर्यटक चितवन निकुञ्ज घुमेका छन् । यो पटक तीन हजारको हाराहारीमा विदेशी पर्यटक बढेका छन् ।
‘बाटोको अवस्था यस्तो छ । बुटवल-नारायणगढ सडक होस् या काठमाडौँबाट चितवन आउने सडक, सबैको अवस्था बिग्रेको छ ।
मुख्य राजमार्गहरू नै राम्रो नभएपछि पर्यटक बढ्न सक्दैनन्’ नेपाल होमस्टे महासंघका केन्द्रीय अध्यक्ष रहेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अमलटारीका प्रेमशंकर मर्दनीया थारुले भने ।
अमलटारीमा विसं २०७० साल जेठदेखि सामुदायिक होमस्टे सञ्चालनमा आएको छ ।
अमलटारी गाउँ चितवन निकुञ्जको आडैमा छ । ‘यहाँ आउनेहरू निकुञ्जका जीव जनावर बाघ, गैँडा हेर्न रुचि राख्नेहरू नै हुन् । पर्यटकको संख्या कहिले राम्रै हुन्छ, कहिले घटेको हुन्छ,’ मर्दनीयाले भने ।
होमस्टेमा बस्न आउनेहरूमध्ये अधिकांश स्वदेशी हुने गर्दछन् । स्वदेशी पर्यटकको संख्या घट्दा होमस्टेलाई पनि असर गरेको उनले बताए । देशको दुरावस्थाका साथै प्रचारप्रसार पनि कम भएको उनी ठान्छन् ।
‘स्वदेश, विदेशमा हाम्रो पर्यटकीय सम्भावनाका बारेमा राम्रो प्रचारप्रसार हुन छाडेको झैँ लाग्छ । बाटोघाटो बिस्तारै बन्ला रे, तर प्रचारप्रसार राम्रो भएन भने मान्छे घुम्न कसरी आउँछ ? त्यसैले सामाजिक सञ्जाल होस् या इन्टरनेटका अन्य क्षेत्र सबैतिरबाट गुणस्तरीय प्रचार सामाग्री आक्रामक रूपमा फैलाउ,’ उनले भने ।
चितवन गोलाघाट पर्यटन विकास समितिका अध्यक्ष विशाल कुमाल नयाँ सम्भावना खोज्न आवश्यक छ भन्छन् ।
‘निकुञ्जमा सफारीसँगै बाहिरी क्षेत्रमा पनि अनेक सम्भावना छन् । त्यसलाई सदुपयोग गरौँ,’ कुमालको सुझाव रहेको छ । उनले भरतपुर महानगरपालिका–२८ को गोला घाटदेखि त्रिवेणी, देवघाट र सौराहा जोड्ने गरेर जलयात्रा सुरु गरे धार्मिक पर्यटनसँगै वन्यजन्तु हेर्न रुचि राख्नेहरूलाई पनि नयाँ गतिविधि उपलब्ध हुने बताए ।
गोलाघाट सूर्यास्तका हेर्नका लागि उपयुक्त ठाउँ हो । यहाँ आदिवासी कुमाल र थारुको बाक्लो बसोबास छ ।
‘वाटर एक्टिभिटी (पानीमा आधारित पर्यटकीय गतिविधि) बढाउन सकियो, आदिवासी थारु, बोटे, कुमाल, र जनजाति समुदाय तामाङका परम्परागत घर बनाएर नमुना गाउँ नै राख्न सकियो भने निकुञ्ज र समुदायमा आधारित पर्यटन फस्टाउन सक्छ,’ अध्यक्ष कुमालले भने ।
निकुञ्ज आडमा धेरै खाले गतिविधि आँट्न पर्यटन व्यवसायीलाई गाह्रो हुने गरेको अनुभव उनले सुनाए ।
‘सम्भावना के हो ? वन वन्यजीव र वातावरणमा असर नपर्ने गरेर नयाँ गतिविधि गर्न खोज अनुसन्धान गर्नु पर्यो । यसका लागि पालिकाले हुन्छ या प्रदेश र संघले अग्रसरता देखाए पर्यटनमा विविधता थपिन्छ ।
नभए उही पुरानै शैलीले पर्यटन फस्टाउन गाह्रो पर्ला,’ मेघ लीको रापती नियन्त्रण मध्यवर्ती सामुदायिक वनको अध्यक्ष पनि रहेका विशाल कुमालको भनाइ छ । उपयुक्त नीति बनाउन तीनै तहका सरकार अग्रसर हुनु पर्यो भन्छन् उनी ।
भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी पछिल्लो समय चितवनको राम्रो पर्यटकीय क्षेत्रका रूपमा उदाइरहेको छ । ठूला पर्यटकीय होटल रिसोर्टहरू यहाँ धमाधम खुलेका छन् । ‘तर निकुञ्जभित्र घुम्न जाने पर्यटकले राम्रोसँग वन्यजीव देखिएन भन्ने गुनासो गरेको मैले सुनेको छु । व्यवसायीहरूले पनि यो कुरा गरेका छन्,’ भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले भने ।
निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन र घोल तथा पोखरी सुधारमा राम्रो ध्यान नपुगेको हो कि भन्ने लागेको उनले बताए । ‘वन्यजन्तु निकुञ्जभित्र भन्दा बाहिर मध्यवर्ती सामुदायिक वनहरूमा बढी छन् । निकुञ्ज घुम्न भनेर विदेशबाट आउने पर्यटकलाई निकुञ्ज भनेर मध्यवर्तीमा घुमाउँदा पनि सन्देश राम्रो जाने भएन । निकुञ्जभित्र लगेर घुमाउँदा पर्याप्त वन्यजीव देखिएनन् भने पनि राम्रो नहुने भयो,’ वडाध्यक्ष महतोले भने ।
निकुञ्ज घुम्न अधिकांश पर्यटक सौराहा पुग्छन् । पूर्वी सिमानाको सुनाचुरी, प्यारीढाप नाका पनि खुलाउने र त्यस वरपर पर्यटकीय गतिविधि र पूर्वाधार बढाए सबै क्षेत्रमा पर्यटन पुग्ने चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मनबहादुर स्याङ्बोले बताए ।
‘५० सालको बाढीपछि यहाँको घोल र घाँसे मैदान बिग्रियो । पछि निकुञ्जभित्र रहेका होटल, मचान, चितवन जंगल लज पनि बन्द भए,’ उनले भने ।
लोथर उपभोक्ता समिति अन्तर्गत चितवन निकुञ्जको पूर्वी सिमानामा चितवन तर्फ चार र मकवानपुर तर्फ एउटा गरेर पाँच वटा मध्यवर्ती सामुदायिक वनहरू रहेको उनले बताए ।
यी वनहरूमा जिप सफारीका लागि पूर्वाधारहरू बनेका छन् । ‘निकुञ्जको पूर्वी सीमा क्षेत्रमा पर्यटकीय गतिविधि शून्य जस्तै छ । यता पनि पर्यटन विस्तार गरे पर्यटकले नयाँ ठाउँ देख्न पाउँथे । संख्या बढ्ने थियो,’ स्याङ्बोले भने ।
प्रतिक्रिया दिनुहोस्