
पेरिस– फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीलाई सन् २००७ को राष्ट्रपति चुनावका लागि लिबियाबाट अवैध चन्दा लिएको आरोपमा दोषी ठहर गरिएको छ ।
यससँगै उनी युरोपेली संघको इतिहासमा जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रप्रमुख बन्ने भएका छन् ।
सारकोजीलाई पेरिसस्थित ‘ला सान्ते’ कारागारमा एकान्त कक्षमा राखिनेछ, जसले अन्य कैदीहरूसँगको सम्पर्क सीमित गर्नेछ ।
उनी दैनिक एकपटक मात्र बाहिरी प्रांगणमा एक्लै हिँड्न पाउनेछन् ।
फैसला ‘अन्यायपूर्ण’ भएको दाबी गर्दै सारकोजीले अपिल दायर गरेका छन्, तर अदालतले अपराधलाई ‘असाधारण रूपमा गम्भीर’ मानेर तत्काल कारावासको आदेश दिएको हो ।
उनका वकिलहरूले जेल प्रवेशपछि तुरुन्त रिहाइको माग गर्ने जनाएका छन् ।
यसअघि उनले एक न्यायाधीशबाट व्यक्तिगत लाभ लिन खोजेको मुद्दामा इलेक्ट्रोनिक निगरानीसहितको सजाय भोगिसकेका थिए ।
पछिल्लो मुद्दामा लिबियाली नेतासँग अवैध आर्थिक सन्धि गरेको आरोप लागे पनि चन्दा प्राप्तिको प्रमाण नपाएपछि सो आरोपबाट भने सफाइ पाएका छन् ।
हालैको सर्वेक्षण अनुसार ६० प्रतिशत फ्रान्सेली नागरिकले अदालतको फैसला उचित ठानेका छन् ।
यद्यपि, सारकोजी अझै दक्षिणपन्थी समर्थकबीच लोकप्रिय छन् ।
उनका छोरा लुइस सारकोजीले सामाजिक सञ्जालमार्फत पिताको समर्थनमा घरअगाडि भेला हुन आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्