images
images
  • बाढीले बगायो मेलम्ची आयोजनाको हेडवर्क्स पुग्ने चार वटा पुल

    सिन्धुपाल्चोक । बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्ससम्म पुग्ने चार वटा पुल बगाएको छ । मेलम्ची नदीमा आएको बाढीले आयोजनासम्म पुग्ने चार वटा मोटरेबल पुल बगाएको हो ।

    मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने पुल बाढीले बगाएको आयोजनाका प्रवक्ता डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले बताएका छन् । बगाएका चार पुल मध्ये एउटा अम्बाथानको हो । जो सुरूङमा पानी पठाउनका लागि महत्वपूर्ण थिए ।

    चार वटा पुल तुरुन्तै बनाउनु पर्ने देखिएको र आफूसँग त्यो क्षमता नरहेको आयोजनाको भनाइ छ।

    पन्तले भनेका छन्, ‘हेडवर्क्ससम्म पुग्ने चार वटा पुल बगाएकाले मेलम्ची बजारबाट माथि जान सकिएको छैन ।’ चार वटा पुल स्थायी वा अस्थायी बनाउनेबारे नेपाली सेना र सडक विभागसँग आवश्यक समन्वय भइरहेको पन्तले बताएका छन् । आयोजनाले तत्काल पुल बनाउन सेना र सडक विभागलाई गुहारेको हो ।

    यस्ता पुल बनाउन ६–७ महिना लाग्छ । सेनाले चाँडै बनाउन सक्ने भएकाले समन्वय गरिरहेको पन्तले बताए । अहिले मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षणकै क्रममा छ। सुरूङबाट पानी निकाल्ने काम भइरहेको छ।

    सुन्दरीजल र सिन्धुबीचको पानी निकाल्ने काम अहिले भइरहेको छ। त्यसपछि ग्याल्थुङ र अम्बाथानको सुरूङ खाली गराइने पन्तले जानकारी दिए ।

    यसबारे आयोजनाले सडक विभागसँग पनि कुराकानी गरिरहेको छ । मेलम्चीमा बाढी आएकै दिन सुरूङ बन्द गरिएको थियो। नभए सुरुङमा समेत क्षति पुग्ने जोखिम रहेको पन्तले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images