images
images
  • मलेसियामा अवैध नेपाली कामदारलाई नेपालीले नै ठग्छन्

    काठमाडौँ- मलेसियामा सात वर्ष अवैध रूपमा बसेका पाँचथरका दीपराज लिम्बू अहिले घर फर्किन खोज्दैछन्। आफूसँग स्याङ्जाका कवीर कुँवरले स्वदेश फर्किन सहजीकरण र कागजपत्र मिलाइदिने भन्दै तीन हजार रिंगेट लिएको लिम्बू बताउँछन्। कुँवरले पैसा लिएको दुई महिनासम्म लिम्बूलाई घर फर्किने कागजात बनाउन सकेनन्। उनका अनुसार कुँवर सम्पर्कविहीन छन्। कुँवरमाथि सयजनाभन्दा बढी नेपालीसँग यसैगरी पैसा लिएको आरोप छ।

    कुँवरले तीन हजार रिंगेट लिएर भागेपछि मात्र आफू ठगीमा परेको थाहा भएको लिम्बूले बताए। उनका अनुसार मलेसियामा अवैध बसेका नेपाली कामदारलाई नेपालीले नै ठगी गर्छन्। ठगी गर्ने पनि प्राय: अवैध बसेका नेपाली कामदार पर्ने गरेको उनले बताए।

    ‘मलेसियामा धेरै नेपाली कामदार ठगिन्छन्। मलेसियाको अध्यागमन र नेपाली दूतावाससँग सेटिङ भएको भन्दै नेपालीलै आफ्नै देशका दाजुभाइले ठग्छन्’, उनले भने। मलेसियामा अवैध बसेका कामदारलाई केही नेपालीले स्वदेश फर्काउन, मलेसिया प्रहरीबाट जोगाउन र राम्रो रोजगारी लगाइदिने भन्दै ठगी खाने बाटो बनाएको उनको भनाइ छ।

    यसैगरी ठगिने अर्का व्यक्ति हुन् रामेछापका सिद्धार्थ कार्की। उनी मलेसियामा अवैध रूपमा बसेको नौ वर्ष भयो। कार्की आफूलाई स्वदेश फर्किने प्रलोभनमा गैरआवासीय नेपाली संघको प्रतिनिधि भनिने चन्द्र तामाङले ठगी गरेको बताउँछन्। ठगीमा परेपछि बुझ्दा तामाङ गैरआवासीय नेपाली संघ मलेसियाको प्रतिनिधि नभएको पुष्टि भएको उनले बताए। ‘तामाङले आफूसहित ११ जना नेपालीसँग दुई हजार रिंगेटका दरले लिएर भागे। उनले स्वदेश फर्किने कागज बनाइदिने भनेका थिए। हाल उनी कहाँ छन् थाहा छैन। हामीले प्रहरीमा उजुरी गर्न मिल्दैन’, उनले भने।

    मलेसियास्थित नेपाली दूतावासमा सम्पर्क गरी तामाङका नाममा उजुरी गरे पनि दूतावासले वास्ता नगरेको उनको भनाइ छ। मलेसिया रोजगारीमा आएका नेपाली महिला कामदारसमेत ठगीमा संलग्न रहेको दाबी कार्कीको छ। कार्कीका अनुसार बार र डिस्कोमा काम गर्ने आएका नेपाली महिलाले मलेसियाको राउन्ड प्रहरीसँग मिलेर बंगलादेशी र नेपाली युवालाई फसाउने गरेका छन्। नेपाली युवतीलाई प्रयोग गर्नसमेत मलेसियामा नेपाली गिरोह सक्रिय रहेको उनी बताउँछन्।

    कार्कीका अनुसार यस्ता महिलाको नजरमा प्राय: अवैध बसेका कामदार पर्छन्। ‘रि क्यालिब्रेसन कार्यक्रम आरटीके’ सन् २०२३ जुन महिनाको २७ तारिखदेखि सुरु भएर सन् २०२४ को जुन ३० तारिखमा सकिएको छ। यसै कार्यक्रममार्फत मलेसियामा अवैध बसेका कामदारलाई स्वदेश फर्किन मिलाइदिने भन्दै नेपालीले ठगी गर्दै आएका छन्।

    कार्यक्रममा धेरै विदेशी कामदारलाई दलालले ठगी गरेको भन्दै मलेसियाको गृह मन्त्रालयले उनीहरूबाट जोगिन विज्ञप्तिसमेत जारी गरेको थियो। घरफिर्ती कार्यक्रम जारी रहेको सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेपछि मलेसियाको गृह मन्त्रालयले घर फिर्ती कार्यक्रम सञ्चालन नभएको स्पष्ट पारेको छ। मलेसियाको गृह मन्त्रालयले त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गरिनेसमेत सूचनामा भनेको छ।

    मलेसियास्थित नेपाली दूतावासका कन्सुलर भोलानाथ गुरागाईँले मलेसियामा रहेका सबै नेपाली कामदारलाई भ्रममा नपर्न र ठगीबाट बच्न सूचित गराउँदै आएको जानकारी दिए। उनका अनुसार हाल मलेसिया सरकारले अवैधानिक आप्रवासीको घरफिर्तीको कुनै कार्यक्रम सञ्चालन गरेको छैन।

    उनले मलेसियामा नेपालीबाट विभिन्न बहानामा नेपाली कामदार ठगिने गरेको सूचना दूतावासमा आउने गरेको बताए। ‘मलेसियामा अवैध बसेका कामदार समस्या र ठगीमा पर्ने गरेका छन्। उनीहरूले आफ्नो समस्या फोनमार्फत दूतावासमा सुनाउँछन्। अवैध रूपमा बसेका कामदार कहाँ बस्छन् भन्ने थाहा हुँदैन’, उनले भने।

    मलेसियामा अवैध रुपमा बसेका कामदारलाई दूतावासको सम्पर्कमा आई आफ्नो कागतजात बनाएर स्वदेश फर्किन सूचना गर्दै आएको उनको भनाइ छ। मलेसियामा करिब एक लाख नेपालीमा अवैधमा रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ। रि क्यालिब्रेसन कार्यक्रम २.० कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख विदेशी कामदार अनलाइन दर्ता भएका छन्। पाँचदेखि सात हजार नेपाली पनि यस कार्यक्रममा सहभागी भएको दूतावासको अनुमान छ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images