काठमाडौं : पहिलो संस्करणको ‘खो-खो विश्वकप’ प्रतियोगितामा नेपाली टिमले उत्कृष्ट प्रर्दशन गरेको छ।
उद्घाटन खेलमा पराजित भए पनि दोस्रो खेलमा नेपाली पुरुष टिम विजयी भएको छ। महिला टिम खेलेका दुवै खेलमा बाजी मार्न सफल भएको छ।
पुरुषतर्फको दोस्रो खेलमा नेपालले पेरुलाई ४६ अंकको अन्तरले हराउन सफल भयो।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको खेलमा नेपालले ८० अंक बनाउँदा पेरुले ३४ अंक बनायो।
यसअघि पहिलो खेलमा पुरुष टोली भारतसँग पराजित हुँदा महिला टोलीले भुटानलाई हराएको छ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा भएको उद्घाटन खेलमा नेपाली पुरुष टोली आयोजक भारतसँग ५ अंकको अन्तरले पराजित भएको छ।
कडा प्रतिस्पर्धा भएको यो खेलमा भारतले ४२ अंक बनायो भने पराजित नेपालले ३७ अंक जोड्न सक्यो। खेलमा पराजय बेहोरे पनि नेपाली खेलाडी रोहित बर्मा उत्कृष्ट डिफेण्डर भए।
पुरुषतर्फ नेपालले समूह ए मा प्रतिस्पर्धा गर्नेछ। यो समूहमा नेपालसँगै भारत, भुटान , पेरु र ब्राजिल रहेका छन्। नेपालले बुधबार ब्राजिलसँग र बिहीबार भुटानसँग समूहचरणमा खेल्नेछ। समूहका विजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन्।
समूह ए मा बलियो रहेको भारतलाई विश्व विजेताको दाबेदारका रूपमा हेरिएको छ। यही समूह ए मा रहेको नेपाललाई पनि प्रतियोगिताको एउटा मजबुत टोलीका रूपमा लिइएको छ। नेपाल खो खो संघका अध्यक्ष प्रदीप मर्हजन नेपालले च्याम्पियनका लागि प्रतिस्पर्धा गरेपनि उपविजेतासम्मको सम्भावना नेपालको प्रबल रहेको बताउँछन्। सन् २०२३ मा भारतको गुवाहटीमा भएको एशियन च्याम्पियनसीपमा नेपाल , भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो।
समूह एबाट कम्तिमा दोस्रो हुँदै क्बार्टरफाइनल , त्यसपछि सेमिफाइनल र त्यहाँबाट पनि अगाडी बढे फाइनलमा सम्भवत: भारतसँग नै भेट हुनेछ।
विश्वकपको समूह बीमा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्याण्ड्स र इरान छन्।
यस्तै समूह सीमा बंगलादेश, श्रीलका , दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड रहेका छन्। यसैगरी समूह डी मा इंगल्याण्ड, जर्मनी, मलेसिया र केन्या छन्। विश्वकपको उद्घाटन भारतीय उपराष्ट्रपति जगदीप धनखरले गरेका थिए।
महिला टोलीले भुटानलाई हरायो
विश्वकपमा समूह सीमा परेको नेपाली महिला टोलीले सुरुमै उत्कृष्ट प्रदर्शन गरेको छ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर रंगशालामा मगलबार साँझ सम्पन्न दोस्रो खेलमा पनि नेपाल विजयी बन्यो। नेपालले जर्मनीलाई ३९ अंकले हरायो। नेपालले ७३ अक बनाउँदा जर्मनीले मात्र ३४ अक बनाउन सक्यो।
यसअघि बिहान सम्पन्न खेलमा भुटानलाई ६९ अंकको भारी अन्तरले हराउँदै विश्वकपमा शानदार शुरुवात गरेको थियो। खेलमा नेपालले ९३ अंक बनायो भने पराजित भुटानले २४ अंक मात्र बनाउन सक्यो।
यो समूहमा नेपाल, जर्मनी र भुटानसँगै श्रीलंका र बंगलादेश पनि रहेका छन्। बुधबार श्रीलकासँग र बिहीबार बंगलादेशसँग नेपालले खेल्नेछ।
अन्तिम आठमा पुग्नका लागि तुलनात्मकरूपमा नेपाल सहज समूहमा परेको छ। तैपनि बंगलादेशले पनि नेपाललाई चुनौती दिने सम्भावना छ। क्वार्टरफाइनल या सेमिफाइनलमा नेपालको भेट भारतसँग नभएको खण्डमा उपविजेतासम्मको सम्भावना हुनेछ भने अन्यथा त्यहीँबाट यात्रा सकिनसक्ने संघका अध्यक्ष मर्हजन बताउँछन्।
महिला विश्वकपको समूह ए मा भारत , इरान , मलेसिया र दक्षिण कोरिया रहेका छन्। समूह बि मा इगल्याण्ड , अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स छन्। यसैगरी समूह डि मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड , पेरु र इण्डोनेसिया छन्।


विश्व खबर 


















