images
images
  • कांग्रेस पृष्ठभूमिका वाग्लेका कारण रास्वपा फुटको संघारमा, संसदीय दलको नेता नपाए विद्रोह गर्ने !

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै २ वर्ष अघि मात्रै उदाएको पार्टी फुटको संघारमा पुगेको चर्चा हुन थालेको छ ।

    लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुरमा ३१ करोड २६ लाख रुपैयाँ बिगो मागदावी गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति दिएका छन् । तर, कार्यबाहक सभापतिको दौडमा अर्का उपसभापति डा. स्वर्णिम वाग्ले पनि रहेका थिए ।

    नेपाली कांग्रेस पृष्ठभूमिका वाग्लेका कारण अहिले पार्टीभित्र गुट उपगुटको श्रृङ्खला बढेको रास्वपाकै नेताहरुले स्वीकारेका छन् ।

    रास्वपा पदाधिकारी बैठकले सभापति लामिछाने विरुद्ध मुद्दा दायर भएपछि पार्टीका उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेको छ । उक्त जिम्मेवारी वाग्लेले गुमाएपछि उनी अहिले संसदीय दलको नेताको जिम्मेवारी जसरी पनि आफूले पाउनुपर्ने भन्दै कुरा राख्न थालिसकेका छन् । केहि गरी संसदीय दलको नेता आफूले नपाए रास्वपाबाट बिद्रोह गर्नेसम्मको चेतावनी वाग्लेले दिइरहेको रास्वपा उच्च स्रोतले बताएको छ ।

    समानुपातिकबाट सांसद भएका अर्याललाई संसदीय दलको नेता बनाइए विद्रोह गर्ने मुडमा रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठसमेत रहेको स्रोतको दाबी छ । अर्थात प्रतक्ष निर्वाचित सांसदहरु एकातिर र समानुपातिक सांसदहरु अर्कोतिर भइरहेका छन् ।

    सभापति रवि लामिछानेले हिरासतबाटै पार्टी चलाउने भन्दै गत कात्तिक २ गते देखि करिब २ महिना कसैलाई पनि कार्यबाहक सभापति दिएका थिएनन् । तर, मुद्दा नै दर्ता भएपछि भने उनले देखाउनको लागि डीपी अर्याललाई कार्यबाहक दिएको चर्चा छ । अर्थात जेल जीवन नै बिताउन परेपनि रविले रास्वपा आफैले चलाउने योजना तयार पारिसकेका छन् ।

    संसदीय दलको नेताको जिम्मेवारी पनि पार्टी सभापतिको रुचि भन्दै डिपीअर्याललाई नै दिने सुइको पाएपछि अहिले रास्वपाभित्र प्रतक्ष निर्वाचित र समानुपातिक सांसदहरु दुई कित्तामा छन् । यदि डिपी ले नै संसदीय दलको नेता पाएभने पार्टीभित्र ठूलो विद्रोह हुने निश्तित जस्तै रहेको रास्वपाका एक नेताले बताए ।

    उनका अनुसार रास्वपाको विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारमा दुई उपसभापतिमध्ये उमेरमा जेष्ठउपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमासभापतिको कार्य गर्ने उल्लेख छ ।

    वाग्ले २०३१ साल जेठ १६ गतेका हुन् भने अर्याल २०३१ भदौ ६ का । तर, उमेरले ज्येष्ठ रहेका वाग्लेलाई रवि र पार्टीले कार्यवाहक सभापति पद दिन अस्वीकार गरेसँगै वाग्ले पार्टीबाट चिढिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा वाग्ले भन्दा डिपी अर्यालको भूमिका धेरै भएकाले पार्टी सभापति लामिछानेले अर्याललाई नै संसदीय दलको नेताको जिम्मेवारी दिनसक्ने उनी निकट नेताहरु बताउँछन् ।

    संसदीय दलको नेतामा हालका उपनेता श्रेष्ठका साथै पूर्वमन्त्री सुमना श्रेष्ठले समेत दाबी गरेकी छन् । यस्तै महिलाले संसदीय दलको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै रास्वपाकी सांसद चन्दा कार्कीले समेत संसदीय दलको नेतामा उम्मेदवारी दिने बताउन थालेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति अर्यालले संसदीय दलको नेतामा समानुपातिक सांसदसमेत हुन सक्ने माहोल बनाउन विभिन्न समानुपातिक सांसदलाई उम्मेदवारी दिने विषयमा बोल्दै हिड्न लगाएको स्रोतको दाबी छ ।

    रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आफ्ना निकटस्तहरूसँग स्वाभाविकरूपमा उपसभापतिका रूपमा आफूले पाउनुपर्ने कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिएकाले संसदीय दलको जिम्मेवारीमा अन्य कुनै नेताले दाबी गर्न नपाउने बताउँदै आएका छन् ।

    ‘अन्य पार्टीमा देखिने गरेको गुट उपगुट यसपटक हाम्रो पार्टीमा पनि देखिन थालेको छ,’ रास्वपाका एक सांसदले भने, ‘धेरै कुरा बाहिर भन्न मिल्दैन एकले अर्कालाई नस्वीकार्ने भन्ने अवस्थामा कैयौं नेताहरु पुगेका छन् ।’

    वाग्लेले आफूलाई नस्वीकार्ने अभिव्यक्ति दिएको चाल पाएपछि कार्यवाहक सभापति अर्याल सके आफैं संसदीय दलको नेता बन्ने नसकेको अवस्थामा जसरी पनि वाग्लेलाई रोक्ने प्रयासमा लागिसकेका छन् ।

    लामिछानेलेसमेत आफू कारागार चलान भएमा दल बाहिर रहेको कुनै व्यक्तिलाई पार्टीमा ल्याएर सभापतिको जिम्मेवारी दिने विषयमा समेत छलफल अघि बढाइरहेको स्रोतको भनाई छ ।

    लामिछाने जेल गएको अवस्थामा पार्टीको कमाण्ड आफ्नो हातमा पुग्ने वाग्ले समूहको सोचमा रविले अहिले नै पानी छ्यापी रहेका छन् ।

    वाग्ले गत निर्वाचनमा नेपाली कांग्रेसबाट सांसदको टिकट नपाएपछि रास्वपा प्रवेश गरेका थिए । वाग्ले समूहले नै लामिछानेलाई आरजू देउवा र गगन थापाविरुद्द चर्का कुरा गरेर आरोपप्रत्यारोप लगाउन उक्साएको लामिछानेको कोर टिमका नेताहरु बताउँछन् ।

    रवि लामिछाने जेल गइहालेको अवस्थामा डीपी र स्वर्णिमले नेतृत्व गर्न नसक्ने भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन साहलाई पार्टी नेतृत्व मानेर जानुपर्ने विषयमा पनि केही नेताले गृहकार्य सुरु गरिसकेका छन् । तर बालेनले भने यो विषयमा मुख खोलेका छैनन् । रवि जेल गएको अवस्थामा यसको फाइदा स्वयम बालेनले उठाउन सक्ने रास्वपाको विश्लेषण छ ।

    रास्वपाका पूर्व महामन्त्री मुकुल ढकाललेसमेत धेरै मञ्चहरुमा बालेनले सके २०८४ सम्म र नसके २०८९ को संसदीय निर्वाचन जित्ने गरी बालेनले राजनीतितक दलको घोषणा गर्न सक्ने बताउने गरेका छन् ।

    रास्वपाका नेताहरुले हालैमात्र बालेनलाई भेटेर सहयोग मागेको कुरा बाहिर ल्याएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images