काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर एवं नेपाल प्रिमियम लिग (एनपिएल)का दुई कप्तान विदेशी लिगमा आमनेसामने हुने भएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका कप्तान कुशल मल्ल यूएईको इन्टरनेशनल लिग अर्थात् आइएल टी–२० मा अनुबन्धित भएका छन्।
ऐरी गल्फ जायन्ट्स र मल्ल डेजर्ट भाइपर्सबाट खेल्नेछन्।
ऐरी दोस्रोपटक इन्टरनेशनल लिग खेल्न लागेका हुन्। उनी गत सिजनमा अन्तिमतिर खेलका लागि सो लिगमा जोडिएका थिए। तर, डेब्यूको मौका पाएका थिएनन्। यसपालि भने इन्टरनेशनल लिगमा उनी डेब्यू गर्न सक्छन्। उनीआबद्ध गल्फमा जेम्स विन्स, क्रिस जोर्डन, शिमरोन हेटमायर, टम करनलगायत नाम चलेका खेलाडी छन्।
मल्ल आवद्ध डेजर्ट भाइपर्स पाकिस्तानका फखर जमान, आजम खान, मोहम्मद आमिर, श्रीलंकाका वानिन्दु हसरंगा, न्यूजिल्याण्डका लकी फर्गुसन, वेस्ट इण्डिजका शेरफन रदरफोर्डलगायत स्टार छन्।
प्रतियोगिता आगामी जनवरी ११ बाट सुरु हुँदैछ। दीपेन्द्र र कुशल आबद्ध टिम १४ जनवरीमा एकअर्काको सामना गर्ने छन्।





















