काठमाडौं – चालू आर्थिक वर्षको पहिलो ५ महिनामध्ये मंसिरमा सबैभन्दा धेरै नेपालीहरु विदेश गएका छन् ।
पछिल्लो समय विदेशीने नेपालीहरुको संख्या घट्दोक्रममा देखिएपनि मंसिरमा भने चालु आवकै सबैभन्दा धेरै ८४ हजार २२६ जना नेपालीहरु विदेशिएका छन् ।
नेपालमा राजनीतिक स्थिरता नदेखिएको र रोजगारीका आकर्षक अवसरहरुसमेत सिर्जना हुन नसकेका कारण चाडपर्व मनाएर धेरै नेपालीहरु विदेश गएको वैदेशिक रोजगारका विज्ञहरुले बताएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार ८४ हजार मध्ये ८ हजार ६७१ जना महिलाहरु समेत वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्यासमेत निकै उच्च हो ।
मंसिरमा विदेशिने नेपालीको संख्या २०८० मंसिरको तुलनामा समेत धेरै रहेको विभागले जनाएको छ । गत वर्ष मंसिरमा ७१ हजार २७६ जना नेपालीहरुले मात्र श्रम स्वीकृति लिएका थिए ।
यस वर्ष असोजमा ५३ हजार ५२५ र कात्तिकमा ७० हजार ९९० जना नेपालीहरु कामको खोजीमा विदेशिएका थिए ।
चालु आवको पहिलो पाँच महिनामा ३ लाख २५ हजार ८०९ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।
गत वर्ष पहिलो पाँच महिनामा २ लाख ७७ हजार ५९२ जना नेपालीले श्रम स्वीकृति लिएका थिए ।


विश्व खबर 



















