images
images
  • जुट, फुट र गुटको चक्करमा नेपाली कांग्रेस !

    काठमाडौं-नेपाली कांग्रेसबारे आमरूपमा हुने साझा टिप्पणी हो– गुटैगुटको पार्टी । महाधिवेशनको समयमा यस्तो टिप्पणी अझ ज्यादा हुने गर्छ । कांग्रेसकै नेताहरूका अनुसार गुट बन्ने र भत्किने प्रक्रिया भने एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्मै चलिरहेको हुन्छ ।

    १४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित डा.शेखर कोइराला त्यसबेलैदेखि १५औं महाधिवेशनको तयारीमा छन् । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफू पक्षीय नेतालाई टिकट दिलाउनेदेखि सरकार बनाउन र भत्काउन गुटकै तर्फबाट भूमिका खेल्दै आएका डा। कोइराला पछिल्लो समय भने १५औं महाधिवेशनको तयारीमा केन्द्रित भएका छन् ।

    फेरि सभापतिमा उठ्नेमा प्रस्ट रहेका डा.कोइराला आफूलाई खास कांग्रेसको नेतृत्वकर्ताको रूपमा प्रस्तुत गरिरहेका छन् र सभापति देउवाले गुटको मलजल गरेको बताइरहेका छन् । संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सभापति देउवाले नै गुटलाई फस्टाउन मलजल गरेको आरोप लगाए ।

    ‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ । शेखर पनि भागबन्डामा लागेको कुरा यहाँ आयो, ६०र४० को भागबन्डा । भागबन्डा भनेर चुप लागेर बस्ने त होइन नि !’, उनले भने । ‘सभापतिले केही पनि सुन्दै नसुन्ने हो भने अप्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्छ, यो हामीले बुझ्न जरुरी छ’, कोइरालाले भने, ‘सभापति किसुनजीको पनि अनुयायी हो । गुटलाई फस्टाइदिने काम उहाँले नै गर्दा अप्ठ्यारो परिस्थिति सिर्जना हुँदै रहेछ ।’

    नेपालको राजनीतिमा अग्रणी राजनीतिक दल हो नेपाली कांग्रेस । तत्कालीन जहानियाँ राणा शासनको जरो किलो उखेल्न भनेर भूमिगत रूपमा स्थापित पार्टी नेपाली कांग्रेसले राणा, पञ्चायतका निरंकुशता खेपेको मात्र छैन, २००७, २०४६ र २०६३ सालपछिका खुला प्रजातान्त्रिक परिवेशमा शासनसमेत गरेको छ ।

    २००७ सालको क्रान्तिपछि र २०१५ सालको आमनिर्वाचनयता पटकपटक सत्ता सम्हालेको अनुभव पनि छ कांग्रेससँग । बी.पी.कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरूले जन्माएर हुर्काएको कांग्रेसले नेपाली राजनीतिक आन्दोलनका अनेक चरणहरूमा आफूलाई अग्रमोर्चामा राखेर आन्दोलन सम्पन्न गरेको पनि छ ।

    २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट दुई तिहाइ बहुमत पाएको कांग्रेस राजा महेन्द्रको राजनीतिक चातुर्य र तुल्सी गिरीको खुराफाती खेलका सामु पराजित बन्यो । १ पुस २०१७ मा राजा महेन्द्रले दुई तिहाइ बहुमतप्राप्त सरकारका प्रधानमन्त्री बी.पी. कोइरालालगायत नेतालाई थुनामा हालेर प्रत्यक्ष शासन सुरु गरेपछि कांग्रेस प्रतिबन्धित भयो । निर्दलीय पञ्चायत सुरु भयो ।

    ३० वर्षसम्म निर्दलीय र निरंकुश पञ्चायती व्यवस्था कायम रहँदा पनि कांग्रेसले पटकपटक अनेक विरोध र आन्दोलन जारी राख्यो । २०४६ सालमा आएर संयुक्त वाम मोर्चा बनाएर वामपन्थीहरू तथा कांग्रेस मिलेर पञ्चायतविरुद्ध आन्दोलन गरेपछि निर्दलीय पञ्चायतले घुँडा टेक्यो । पुनः प्रजातन्त्र प्राप्त भयो ।

    यसपछि पनि कहिले एकमना त कहिले संयुक्त सरकारको नेतृत्व पटकपटक गरेको कांग्रेस अहिले पनि सत्ताको केन्द्र भागतिरै छ । नेकपा एमालेसँगको संयुक्त सरकारमा रहेको कांग्रेस सत्तारूढ पार्टी हो अहिले ।

    जस्तो इतिहास उस्तै वर्तमान

    117266723 726814258173019 9158886200546611769 nकांग्रेसको स्थापनादेखि नै यसभित्र व्यक्ति गुट चलायमान रहेका पाइन्छ । खासमा यसको स्थापनाकै क्रममा एकातिर सुवर्णशम्शेरको कांग्रेस र अर्कातर्फ बी.पी.को कांग्रेस देखिन्छन् । यी दुवैको संयोजनमा नेपाली कांग्रेस स्थापना भएको पाइन्छ ।

    स्थापनाकालको गुटबन्दीको रोग हालसम्म पनि कांग्रेसमा जीवित छ । कांग्रेसको इतिहास हेर्ने हो भने स्थापनाकालदेखि नै कांग्रेसमा जुटभन्दा गुटको राजनीतिले प्रश्रय पाउँदै आएको छ । स्थापनाको केही समयपछि नै संस्थापकहरू, जो दाजुभाइ पनि हुन्, बी.पी.र मातृकाप्रसाद कोइरालाबीच तनाव सुरु भयो । पार्टी सभापति र प्रधानमन्त्री आफैं भएको देखी सहेनन् बी.पी.ले दाजु मातृकालाई । यही भएर उनले दाजुमाथि नै प्रहार सुरु गरे ।

    मातृका राजातिर मिल्न गए भने बी.पी.ले पार्टी नेतृत्व सम्हाले । तर, केही समयपछि पुनः सुवर्णशम्शेर र बी.पी.बीच पनि मनमुटाव सुरु भयो । यसले कांग्रेसलाई कमजोर बनाउँदै लग्यो । यस्ता फुट र गुटका बीच पञ्चायत सुरु भयो । यसबीचमा पनि कांग्रेस नेतृत्वमा अघोषित शीतयुद्ध जारी रह्यो । पक्ष–पक्षमा विभाजित हुने क्रम निरन्तर रह्यो कांग्रेसभित्र ।

    बीपीको मृत्युपछि पनि कांग्रेसभित्र गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमानलगायतका बीच शीतयुद्ध जारी रह्यो । पछिल्लो समय शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबीचको टकरावले पार्टी विभाजनसम्म पुर्‍यायो ।अहिले गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमानलगायतका संस्थापक नेताहरू छैनन् तर दोस्रो पुस्ताका नेताहरू देउवा, डा.शेखर कोइराला, डा.शशांक कोइरालासँगै कृष्णप्रसाद सिटौला पनि आफ्नै गुट बनाएर अघि बढिरहेको अवस्था छ । यसबीचमा रामचन्द्र पौडेल भने राष्ट्रपति बनेपछि सक्रिय राजनीतिमा देखिएका छैनन् ।

    अहिले कांग्रेस १४औं महाधिवेशनपछि १५औं महाधिवेशनको संघारमा छ । नेपाली कांग्रेसले यसबीचमा विभागहरू गठन गर्न सकस भयो भने भ्रातृ संगठनहरूलाई पनि गति दिन नसकिरहेको अवस्था छ । नेपाली कांग्रेस संस्थापन पक्षले इतर पक्षलाई बेवास्ता गरेको भन्दै डा.शेखर कोइराला पक्ष असन्तुष्ट भई समानान्तर गतिविधि गर्न लागेको छ ।

    सभापति शेरबहादुर देउवाले केही समयअघि कोशी प्रदेशमा राखेको भेलालाई कोइरालाले बहिस्कार मात्र गरेनन्, आफ्ना पक्षका पालिकाका नेताहरूको छुट्टै भेला गरे । डा.शेखर कोइराला आफ्नो पक्षमा मत बढाउन देश दौडाहमा निस्कने तयारीमा छन् । पूर्व र सुदूरपश्चिमको भ्रमण गरिसकेका छन् उनले । कोइराला आगामी महाधिवेशनमा पार्टी सभापतिमा जितेर कोइराला परिवारको विरासत कांग्रेसमा फर्काउने सक्दो प्रयासमा देखिन्छन् । यद्यपि, ‘साइलेन्ट प्लेयर’ मानिने वर्तमान सभापति शेरबहादुर देउवासँग कोइरालाको टक्कर विगतमा झैं असफल होला वा सफल, त्यो जान्न भने १५औं महाधिवेशन कुर्नै पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images