काठमाडौं – नेपालमा पछिल्लो ३ वर्षको अवधिमै करिब १ प्रतिशत वन क्षेत्र बढेको छ ।
सन् २०१९ को तुलनामा सन् २०२२ मा नेपालको वन क्षेत्र ०.७५ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहकार्यमा गरिएको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालको वन क्षेत्र बढेर ४६.०८ प्रतिशत पुगेको छ ।
२०१९ मा वन क्षेत्र ४५.३३ प्रतिशत रहेको थियो । अर्थात २०१९ मा ६६ लाख ८६ हजार ८२८ हेक्टर रहेको वन क्षेत्र २०२२ मा पुग्दा ६७ लाख ९७ हजार २५७ हेक्टर पुगेको छ । ३ वर्षको बीचमा करिब १ लाख १० हजार ४२९ हेक्टर (करिब २२ लाख रोपनी) खेतपाती लगायत प्रयोगमा रहेको जमिन जंगलमा परिणत भएको छ ।
प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालमा करिब १९ प्रतिशत भू–भागमा चट्टान, हिउँ, हिमनदी, वनबुट्यान, नदी बगर, निर्मित क्षेत्र, जल क्षेत्र र खाली जग्गा रहेका उल्लेख छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक डा केसीले वनबुट्यान र केही कृषियोग्य जमिन वनक्षेत्रमा रूपान्तरण भएको पाइएको बताएका थिए ।
उनले प्रतिवेदनमा उल्लेखित भू–क्षेत्र परिवर्तनको सामयिक र आवधिक तथ्याङ्क विवरण राष्ट्रिय र सरोकार भएका विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूलाई उपलब्ध गराइने बताए ।
चुरेमा ७३ दशमलव ६७, मध्य पहाडमा ६४ दशमलव ५४ र उच्च पहाडमा ५७ दशमलव २० प्रतिशत भू–भाग वनक्षेत्रले ओगटेको उनले जानकारी दिए ।
महानिर्देशक डा केसीले तराईमा भने वन भन्दा कृषि क्षेत्र बढी रहेको बताए । तराईमा कृषि क्षेत्र ६५ दशमलव चार प्रतिशत रहेको छ ।


विश्व खबर 



















