images
images
  • NPL कै पहिलो सुपर ओभरमा पोखरासँग विराटनगर पराजित

    काठमाडौं – जारी नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरम पराजित गरेको छ । यो जितसँगै पोखरा ४ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लिएको छ । उसले आफ्नो प्लेअफ पुग्ने सम्भावनालाई पनि जिवितै राखेको छ ।

    एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखराले पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो । त्यसमा पोखराका विदेशी खेलाडी रेयमोन रेइफरले २ छक्का र एक चौकासहित १७ र गोसले १ रन बनाएका थिए ।

    विराटनगरले १९ रनको लक्ष्य पच्छ्याउँदा उनै रेइफरले घातक बलिङ गर्दै कुनै पनि बलमा बाउन्ड्री दिएनन्  । विराटनगरले एक वाइड रन सहित जम्मा ५ रन मात्र बनाउन सक्यो ।

    सुपरओभरमा विदेशी खेलाडी रेइफर पोखराका लागि सुपर हिरो बनेका छन् ।

    निर्धारित २० ओभरको खेलमा विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । पोखराले पनि २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनायो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको बेला पोखराका लागि तिनै रेइफरले २ छक्का सहित १३ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

    उता ५ खेलमा चौथो पराजय बेहोरोको विराटनगर भने प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली हुने लगभग निश्चित जस्तै भएको छ । उसले बाँकी २ खेल जितेमा ६ अंक जोड्न सक्छ तर, अंक तालिकाको शीर्ष सथानमा रहेका ४ टोली मध्ये २ टोलीले यस अघि नै ६ अंक जोडेका छन् र उनीहरुको नेटरनरेट निकै राम्रो छ ।

    नाटकिय प्रदर्शन सहित विराटनगरले दुवै खेल ठूलो अन्तरमा जितेमा र ६ अंक जोडेका चितवन र कर्णाली त्यस्तै नाटकीय ढंगले निकै ठूलो अन्तरमा पराजित भएमा बाहेक विराटनगरको प्लेअफ सम्भावना लगभग समाप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images