काठमाडौं – एसियाली विकास बैंक (एडीबी – Asian Development Bank – ADB) ले नेपाललाई पाँच अर्ब रुपैयाँ अनुदान दिएर १६ अर्ब भन्दा बढी ऋण रकम दिएको छ ।
अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
मधेश प्रदेशमा सिचाई र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा जलवायुसम्बन्धि सीएलआरआरपी कार्यक्रमका लागि क्रमश १ करोड ५० लाख र २ करोड २० लाख डलर (४ अर्ब ९७ करोड रुपैयाँ) अनुदान तथा ११ करोड र १ करोड डलर गरी डलर (१५ अर्ब २६ करोड रुपैयाँ) बराबर ऋण सम्झौता भएको हो ।

सिचाईंको ऋणका लागि अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका नेपालका लागि देशीय प्रबन्धक अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् भने सीएलआरआरपीमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र एडीबीका देशीय प्रबन्धक कचोइसले हस्ताक्षर गरेका छन् ।
सिचाईं आयोजना मधेश प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागु हुनेछन् । यसबाट १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने अर्थमन्त्रालयको विश्वास छ । सीएलआरआरपी जलवायु परिवर्तन प्रभावबाट अत्यधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायको जलवायु लचिलोपन बढाउन केन्द्रित हुनेछ ।






















