काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी कागजात किर्ते गरेर अनुचित लाभ लिएको भन्दै सिलवालविरुद्ध मुद्दा दायर गरेको अख्तियार प्रवक्त नरहरि घिमिरेले बताएका छन् ।
पूर्व गृहसचिव रहिसकेका सिलवालको नेपाल बिमा प्राधिकरणको चार वर्ष कार्यकाल आउँदो माघ २० गते सकिँदै छ ।
सिलवालले नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोप लगाएको अख्तियारले जनाएको छ ।
सिलवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुने र २०८० साउन १५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार रूपैयाँ जफत गरी असुलको मागदावी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
सिलवालले नागरिकतामा पटक पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, बिमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा २०८० साल साउन १६ गतेबाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो नौ महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेको दावी अख्तियारले गरेको छ ।
सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२ फागुन २४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६ वैशाख १७ गते जारी नागरिकतामा जन्म मिति २०१६ कात्तिक २२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयबाट जारी ट्रान्सक्रिप्टमा जन्म मिति २०१५ साउन १५ उल्लेख भएको र स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५ साउन १५ उल्लेख गरेको आरोप अख्तियारको छ ।





















