दमास्कस – सिरियामा २४ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेको केही घण्टापछि नै छिमेकी देश लेबनान र जोर्डनबाट सिरियाली नागरिक धमाधम स्वदेश फर्किन थालेका छन् ।
आइतवार अनलाइन र सामाजिक सञ्जालहरूमा यी दुई देशबाट सिरियाली नागरिकहरू सिरियाको सीमामा प्रवेश गरिरहेको देखिने कयौं तस्बिरहरु बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
लेबनान–सिरियाको सीमामा मसना क्रसिङमा दर्जनौं कारहरू सिरिया छिर्न लाइनमा उभिएका देखिएका थिए । भीडले बशर अल–असदको विरुद्धमा नारा लगाएको सुनिएको थियो । जोर्डनको सीमामा पनि मान्छेको भिड थियो ।
‘म जोर्डनमा १२ वर्षदेखि बसिरहेको छुँ । बशर अल–असदको सरकार पतन भएको खबर सुनेपछि हामी भावुक भयौं । अब हामी आफ्नो देशमा सुरक्षित साथ फर्किन सक्छौं ।’
जाबेर क्रसिङमा एक व्यक्तिले भनेको भन्दै समाचार एजेन्सी रोयटर्सले आफ्नो समाचारमा उद्धृत गरेको छ ।
सीमामा देखिएका अधिकांश कारमा सामानको भारी थिए । सीमामा मानिसहरू आफ्नो झोली तुम्बा बोकेर उभिरहेका देखिएका थिए ।
सिरियामा असदको शासनकालमा लाखौं मानिसहरु देश छोडेर गएका थिए ।
एजेन्सी


विश्व खबर 



















