काठमाडौं – मलेसियाले आगामी केही वर्षसम्म थप विदेशी श्रमिक नलिने नीतिलाई निरन्तरता दिएको छ । यो निर्णयले नेपाली कामदारलाई भने तनाव दिएको छ ।
कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसिया सरकारले निरन्तरता दिएको छ ।
१ जुन २०२४ (१८ जेठ २०८१) देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले १५ सेप्टेम्बरको समीक्षापछि पनि पुनः निरन्तरता दिएको हो ।
मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले सरकारले तोकेको भन्दा देशमा विदेशी कामदारको संख्या धेरै रहेकाले यो निर्णयलाई निरन्तरता दिइएको बताएका छन् ।
‘विदेशी कामदारहरूलाई काममा राख्न तोकिएको कोटा अर्को सूचना नभएसम्म जारी रहनेछ’, उनले मलेसियाली सञ्चार माध्यमहरुसँग भनेका छन् ।
उनले अर्को सूचना जारी नभएसम्म थप विदेशी कामदार मलेसिया आउन नपाउने बताएका छन् । मलेसियामा आजको दिनमा करिब ५ लाख नेपालीले काम गरिरहेका छन् ।
नेपालको जस्तै मौसम भएका कारणले धेरै अदक्ष नेपाली श्रमिकले मलेसियालाई रोज्ने गरेका थिए । रोक नलाग्दासम्म गत जेठ अघि मासिक ८ हजार नेपालीहरु मलेसिया पुगिरहेका थिए । केही समय अघिसम्म पहिलो प्रमुख रोजगार गन्तव्य मलेसिया रहेकोमा बीचमा विवादका कारण दोस्रो स्थानमा झरेको थियोे ।
मलेसियाबाट श्रमिकको माग आउन बन्द भएपछि धेरै नेपालीहरु पछिल्लो समयमा युरोपेली देशमा जान थालेका छन् । तर, युरोप जाँदा अत्याधिक लागत र अङ्ग्रेजी भाषाको ज्ञान आवश्यक हुने हुँदा मलेसिया जस्तो सहज रोजगारी पाउन कठिन परेको छ ।
प्रतिक्रिया दिनुहोस्