काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन आगामी मार्च २०२५ मा गर्ने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणिन्द्र पन्तका अनुसार १०२औं आईसीसी बैठकले कम्बोडियामा उक्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
यसैगरी मार्चमै युरोप क्षेत्रीय सम्मेलन माल्टामा आयोजना गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार अन्य क्षेत्रीय सम्मेलनको मिति र स्थान छिट्टै निर्धारण गरिनेछ ।
संघले नेपालमा गर्दै आएका परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन ‘मेची कप फुटबल’ प्रायोजन गर्ने र बर्दियाको बर्थिङ सेन्टरमा सुविधासम्पन्न कोठा निर्माण गर्न आवश्यक सहयोग गर्ने पनि निर्णय गरेको छ।
त्यसैगरी, नेपाल सरकारको स्वास्थ्य सम्मेलनमा सक्रिय सहभागिता जनाउने, विश्व महिला सम्मेलन सहआयोजना गर्ने, थाइल्यान्डमा युथ पीएनओ सम्मेलन गर्नेसमेत निर्णय भएको संघले जनाएको छ ।
संघका सबै संगठनात्मक गतिविधिलाई निर्वाचित महासचिवमार्फत जानकारी गराउने र संघका प्रवक्तामार्फत सकारात्मक सूचनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय भएको छ।
बैठकले संघको प्रजातान्त्रिक प्रणाली, विधि र विधानमा आधारित प्रक्रियालाई आत्मसात् गर्दै एकताको भावनामा सबै सदस्यलाई समर्थन र सहकार्यका लागि आह्वान गर्ने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्