काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् ।
१४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेर एग्रिमो आएपछि राष्ट्रपति पोडेलले ओलीलाई राजदूत नियुक्त गरेका हुन् ।
झापाका स्थाई बासिन्दा ओली प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकका काका पर्ने नातेदारसमेत हुन्।
लामो समय चीनमै बसेर अध्ययन अनुसन्धान गरेका ओली यस अघि केपी ओली प्रधानमन्त्री रहेका बेला राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका थिए भनि पछि २०७८ वैशाखमा उनी राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त भएका थिए।
डा ओली वन तथा वातावरण क्षेत्रका विज्ञ हुन्। विकास र वातावरण संरक्षणको क्षेत्रमा उनको ३५–४० वर्ष लामो अनुभव रहेको छ। खासगरी हिन्दु–कुश हिमालय क्षेत्रमा ओलीको विज्ञता रहेको छ। उनी वातावरणीय कानुन, वातावरणीय योजना र व्यवस्थापन तथा कृषि भूगोल र पशु विज्ञानका विज्ञ मानिन्छन् ।
चीनको सिचुवान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वातावरण कानुन विषयका ‘भिजिटिङ प्रोफेसर’ रहेका उनी चीनकै सिजाङ (तिब्बत) विश्वविद्यालयका सहायक प्रोफेसर तथा काठमाडौं स्कुल अफ लका ‘भिजिटिङ प्रोफेसर’समेत हुन् ।
उनले इसिमोडमा वरिष्ठ इकोसिस्टम व्यवस्थापन विशेषज्ञका रुपमा ९ वर्ष काम गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट पहाडी क्षेत्रमा भूमि प्रयोग, परिवर्तनको गतिशीलता र स्थिरता विषयमा पीएचडी गरेका उनले मास्टर्सचाहिँ बेलायतबाट गरेका थिए ।
चीनमा लामो समय बिताएका र बाक्लै आहोरदोहोर गरिरहने डा ओली चीन राम्रो बुझेका व्यक्ति भएपनि विज्ञता र अनुभव भने वन तथा वातावरणमा बढी छ, न की कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा ।
प्रतिक्रिया दिनुहोस्