images
images
  • प्रचण्ड गणतन्त्रका नायक !

    काठमाडौं-नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ।

    गणतन्त्र सेनानी कोषले उनलाई यो सम्मान गरेको हो। ‘देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दस वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको’ कोषले जनाएको छ।

    कोषले यस वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरूलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले माओवादीको सशस्त्र संघर्षकालीन जनमुक्ति सेनाका डेपुटी कमान्डरहरू नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए।

    saman

    अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ । सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते-अपाङ्गहरु छन् ।

    गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो । माओवादी जनयुद्धमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्री पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । त्यही कोषले आज पहिलोपटक सम्मान कार्यक्रम गरेको हो ।

    ‘आज गणतन्त्र सेनानी सम्मानको उद्घाटन हो’ सरल सहयात्रीले भने, ‘सुरुमा पार्टी अध्यक्ष प्रचण्ड, चार जना डेपुटी कमाण्डर र शहीद तथा बेपत्ता परिवार एवं घाइते अपाङ्गहरु समेटिने गरी बागमती प्रदेशका १३ जिल्लाबाट एक–एक जनालाई सम्मान गरेका छौं ।’ यस्तो कार्यक्रम पछि सबै जिल्लामा विस्तार गर्ने पौडेलले बताए ।

    ‘मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक’

    Prachanda samman
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्।गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान-२०८१ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

    जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष प्रचण्डले भने, ‘उतिबेला हामीले भनेका थियौँ, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्नेछन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्नेछौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ। त्यो बिन्दु अब नजिक आएको छ।’
    अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन हुने उनको भनाइ थियो।

    लाखौँ लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको रूपमा छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनको दाबी थियो। नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने विचार पनि उनले राखे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images