काठमाडौं – नेपाल एसीसी यू-१९ एशिया कपको पहिलो खेलमै पराजित भएको छ ।
१९ वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोली यूएईमा सुरु भएको यू-१९ एशिया कपको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्दी श्रीलंकासँग पराजित भएको हो ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले श्रीलंकालाई २३३ रनको मध्यम योगफलमा रोक्न सफल भएको थियो । उक्त लक्ष्य पच्छ्यानेक्रममा नेपाली टोलीबाट एक समय ७५-१ को बलियो सुरुवात पनि भएको थियो ।
तर, दोस्रो विकेट गुमाएपछि भने नेपालले निरन्तर विकेट गुमाइ रह्यो र ४६.२ ओभरमा १७८ रनमै अल आउट हुन भयो । खेलमा श्रीलङ्का ५५ रनले विजयी भयो ।
टस हारेको श्रीलङ्काले निर्धारित ५० ओभरमा एक बल खेल्नुअघि अल आउट हुँदै २३३ रन जोडेको थियो । नेपाली बलर सन्तोष यादवले ३ विकेट लिएपछि श्रीलङ्का मध्यम स्कोरमा रोकिएको थियो ।
दोस्रो इनिङ्समा पनि नेपाली ओपनर मायन यादवले ६२ रनको उत्कृष्ट पारी खेल्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । तर उनी आउट भएपछि मध्यक्रममा खेलाडीहरू भने लामो समय मैदानमा टिक्न नसक्दा नेपालले खेल गुमाएको छ ।
नेपालले अब डिसेम्बर ३ मा बाङ्ग्लादेश तथा डिसेम्बर ५ मा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाल, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तानबीच एकअर्काविरुद्ध लीग चरणका खेल भइसकेपछि शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् ।
नेपालले अब हुने दुवै खेल जितेमा सेमिफाइनलको सम्भावना बाँकी रहनेछ । तर अर्को खेल पनि गुमाएमा भने १ खेल अगावै सेमिफाइनलबाट बाहिरिन सक्ने छ ।
प्रतिक्रिया दिनुहोस्