काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दरबारमार्गमा भएको जागरण सभामा वर्तमान सत्ता समिकरण २०८४ को चुनावसम्म कायम रहने बताएका थिए । यसबिचमा यो सरकार कतिन्जेल टिक्छ ? या टिक्दैन भन्ने राजनीतिक सरगर्मी आन्तरिक रुपमा बढिरहेकै छ ।
बिहीबार मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई प्रधानमन्त्री बनिदिनुप¥यो भनेर हप्तामा एकचोटी खबर आउने गरेको खुलाए ।
केही दिन अघि मन्त्रीहरुको समिक्षामा पनि प्रधानमन्त्री ओली असन्तुष्ट देखिएको बुझिएको छ । चीन भ्रमण लगत्तै मन्त्री हेरफेर गर्ने तयारीमा ओली रहेको स्रोतले जनाएको छ ।
मन्त्रीहरूको कार्यसम्पादन चित्त बुझ्दो नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री फेर्ने सङ्केत गरेका छन् ।
बुधबार सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिक समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले सोचेजति काम नभएको भन्दै असन्तुष्टि जनाए ।
उनले विद्यमान खराब स्थितिलाई सकारात्मक परिवर्तन ल्याउनैपर्ने बाध्यता रहेको भन्दै यही गतिको काम कारबाही र कार्यशैलीले परिवर्तन सम्भव नभएको दोहोर्याएका थिए ।
गत असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ३१ गते मन्त्रिपरिषद्का सबै सदस्यलाई तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका थिए ।
हामी जागिर खाइरहेका छैनौँ । देश, जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ’, प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका थिए, ‘भावी सन्ततिका लागि काम गरिरहेका छौँ । त्यसैले हामीले गर्ने काम हाम्रो तलबसँग तुलना हुनै सक्दैन ।’
त्यस क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट कार्यान्वयनका साथै सरकारले गर्ने मुख्य कामबारे ठोस योजना ल्याउन मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
सोही अनुसार मन्त्री र सचिवहरूले कार्ययोजना बनाएर काम गरेको बताए पनि प्रधानमन्त्री ओली जनताले महसुस गर्ने गरी काम नभएको र परिवर्तनको महसुस हुन नसकेको भन्दै मन्त्रीहरूको कार्यसम्पादनप्रति सन्तुष्ट देखिएका छैनन् ।
एक मन्त्रीका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेससहित अन्य दलका तर्फबाट मन्त्री भएकाहरूको भन्दा आफ्नै पार्टीबाट मन्त्री भएकाहरूको कार्यसम्पादन प्रभावकारी बन्न नसकेकोतर्फ प्रधानमन्त्रीको सङ्केत थियो । ‘राजस्व उठ्न नसकेको र अर्थतन्त्र चलायमान बन्न नसकेको कुरा प्रधानमन्त्रीले गर्नुभयो । त्यो कुरा अर्थ मन्त्रालयसँग सम्बन्धित छ’, ती मन्त्रीले भने ।
अर्थमन्त्रीको जिम्मेवारीमा एमालेकै उपाध्यक्ष विष्णु पौडेल छन् । पछिल्लो समय प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलबिचको सम्बन्ध खासै सुमधुर बन्न नसकेको एमालेकै नेता–कार्यकर्ताहरू बताउँछन् ।
त्यस्तै भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको कार्यसम्पादनप्रति पनि प्रधानमन्त्री सन्तुष्ट हुन नसकेको बताइएको छ । त्यसबाहेक उद्योगमन्त्री दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतको कार्यसम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट हुन सकेका छैनन् ।
त्यसो त प्रधानमन्त्री ओलीले साउन ३१ गते मन्त्रीहरूलाई निर्देशन दिने क्रममै वस्तुगत लक्ष्य निर्धारण गर्दा सफल हुन सकिने बताएका थिए । ‘अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ, धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ’, प्रधानमन्त्री ओलीले भनेका थिए, ‘गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।’
स्रोतका अनुसार मङ्सिर १७ गतेदेखि हुने प्रधानमन्त्रीको चीन भ्रमणपछि उनले केही मन्त्री परिवर्तन गर्ने र केहीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन् ।
‘तीन महिने समीक्षाका क्रममा प्रधानमन्त्रीले चीन भ्रमणबाट फर्केपछि कार्यसम्पादनमा कमजोर रहेका मन्त्रीहरू हटाउने र केहीको जिम्मेवारी हेरफेर गर्नेजस्तो बुझिन्छ’, एक मन्त्रीले भने, ‘त्यसमा साना दलबाहेक कांग्रेस एमालेकै मन्त्री पर्ने देखिन्छ ।’
प्रधानमन्त्री ओलीले मङ्सिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्दैछन् ।
त्रैमासिक समीक्षाका क्रममा कतिपय मन्त्री र सचिवहरूले स्रोतको सुनिश्चितताविना अघिल्लो सरकारले ल्याएको बजेटका कारण पनि काम गर्न सहज नभएको गुनासो गरेका थिए । मन्त्री र सचिवहरूको यस्तो गुनासोमा जवाफ दिँदै प्रधानमन्त्रीले भनेका थिए, ‘बजेटको पनि समीक्षा गर्न सकिन्छ तर काम गर्ने शैलीमा आमूल परिवर्तन नै ल्याउनुपर्ने देखिन्छ ।’
उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसङ्गतिलाई व्यवस्थापन गर्नुपरेको भन्दै ११ हजार नक्कली आयोजना ल्याइएको खुलासा गरेका थिए ।
‘बहुवर्षीय खालका योजनामा यस वर्ष रु २० लाख मात्रै बजेट राख्ने खालका विकृति अन्त्य हुनुपर्छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘हरेक मन्त्रालयले उत्पादन, कृषि, ऊर्जा वा सूचना प्रविधि आदिका क्षेत्रमा हामीले नयाँ क्रान्तिकारी काम के गर्न सक्छौँ भनेर सोच्नुपर्ने भएको छ ।’
केही मन्त्री कामभन्दा पनि बढी गफ दिने गरेकोप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले राष्ट्रिय विकासको काम र देशको अर्थतन्त्र परिचालन गफका भरमा नचल्ने प्रस्ट पारेका थिए ।
प्रतिक्रिया दिनुहोस्