images
images
  • ६४ लाख नयाँ पासपोर्ट छाप्न राहदानी विभागले आह्वान गर्‍यो नयाँ टेन्डर, वर्षमा कति छापिन्छन् ?

    काठमाडौं – राहदानी विभागले एकैपटक ६४ लाख थान पासपोर्ट छपाइका लागि अन्तत: नयाँ टेन्डर नै आह्वान गरेको छ ।

    ठेक्का गर्ने कि भेरिएसन गरेर अहिले कै कम्पनीलाई राहदानी छाप्न दिने भन्ने विषयमा निर्णय गर्न अलमल गर्दा विभागको प्रणालीमाथि नै जोखिम हुने गरी साइबर आक्रमण भएको थियो । यसले गर्दा विभागले एक हप्तासम्म सेवा दिन सकेन भने जिल्ला र विदेशस्थित नियोगको सेवा अझै पनि प्रभावित भइरहेको बेला विभागले नयाँ टेन्डर आह्वान गरेको हो ।

    बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन माग गरेको छ । विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ भने दोस्रो प्याकेजमा पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ।

    विभागले ४५ दिनको म्याद राखेर पासपोर्ट छपाइको ठेक्का गरेको हो । १२ जनवरी २०२५ सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न सक्नेछन् ।

    २० डिसेम्बर २०२० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । यो ठेक्काअनुरूप आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटीलाई २० लाख मात्रै पासपोर्ट छपाइ भए पछि २ असार २०८० को मन्त्रिपरिषद्‍को निर्णयअनुसार थप २८ लाख पासपोर्ट सोही ठेक्का भेरिएसन गरेर छाप्न दिने निर्णय भएको थियो ।

    अब फेरि त्यसैगरी दोस्रो पटक २० लाख पासपोर्ट छाप्ने गरी ठेक्का भेरिएसन गर्न दबाब भएपछि विभागले ढिला गरी पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको हो ।

    नयाँ ठेक्का चाहने र नचाहने स्वार्थ समूहहरूको कलहका बीच गत बुधबार पासपोर्टको सेवा नै अवरुद्ध हुने गरी साइबर आक्रमण भएको थियो । ५ दिन सबै सेवा बन्द गरेको विभागले अहिले पनि जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगहरुबाट सेवा दिन सकेको छैन । भेरिएसन गर्दा प्रणालीमाथि नै खतरा उत्पन्न हुने देखेपछि विभागबाट नयाँ ठेक्का आह्वान गरिएको हो ।

    हाल विभागसँग करिब १३ लाख पासपोर्ट छपाइ गर्न बाँकी छन् । मासिक १ लाख पासपोर्ट छाप्ने विभागका लागि यो कोटा एक वर्षामा सकिने छ । यहि बीचमा विभागले ६४ लाख पासपोर्ट छाप्न नयाँ ठेक्का सम्झौता गरिसक्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images