images
images
  • चीन भ्रमण अघि प्रधानमन्त्री ओली र विप्लवबिच के कुराकानी भयो ?

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणको पूर्वसन्ध्यामा महासचिव विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

    भेटको क्रममा ओली सरकारसँग विगतमा गरिएको तीन बुँदे सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

    ‘विगतमा ओली सरकारसँग हाम्रो तीन बुँदे सहमति भएका थिए । अहिले पनि उहाँ आफै प्रधानमन्त्री हुनुहुन्छ । तर अहिलेसम्म हाम्रा नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता भएको छैन । हाम्रा १० जना कार्यकर्ता जेलमै हुनुहुन्छ । त्यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौँ’, भेटवार्ताबारे जानकारी दिँदै उनले भने ।

    जवाफमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्किएर आएपछि दुवैपक्ष बसेर समस्या समाधान गर्ने बताएको उनले जानकारी दिए ।

    ‘चीन भ्रमणबाट फर्किएपछि दुवै पक्ष बसेर मुद्दा फिर्ता लिने विषयमा छलफल गरौँला भन्नुभएको छ’, ओलीको भनाइ उदृद्धि गर्दै उनले भने ।

    यस्तै चीन भ्रमणमा कूटनीतिक सम्बन्धमा कुनै असर नपर्ने गरी कुराकानी गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । एकीकृत जनक्रान्तिको कार्यदिशा अंगाल्दै विद्रोहमा होमिएको नेकपामाथि तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि सशस्त्र भूमिगत विद्रोह गरेको नेकपाले ०७७ साल फागुनमा सरकारसमक्ष तीन बुँदे सहमति गरेको थियो । सोही सहमति अनुसार आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन विप्लवले दबाब दिँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images