काठमाडौं – सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार लामिछानेसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् ।
चितवनको साहारा सहकारीका २४ जना पीडितले उनीहरूविरूद्ध पुरक किटानी जाहेरी दिएका थिए ।
साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था/ कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
रवि लामिछानेलाई योसँगै ४ जिल्लाबाट पक्राउ पुर्जी जारी भएको छ । पहिलोपटक कास्कीबाट जारी भएको पक्राउ पुर्जीका आधारमा उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनले रुपन्देहीमा पनि बयान दिएका छन् । अब उनलाई काठमाडौं र चितवनमा बयानका लागि लगिने छ ।























