images
images
  • रविले २/२ पटक चुनाव जितेको चितवनमा पनि पर्‍यो किटानी जाहेरी, अब ४ जिल्लामा बयान दिनुपर्ने !

    चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध उनी सांसद निर्वाचित भएको जिल्ला चितवनमा पनि सहकारी ठगीविरुद्ध किटानी जाहेरी परेको छ ।

    लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको हो । चितवनको साहारा सहकारीको बचत अपचलनमा रवि र छविविरुद्ध पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएका हुन् ।

    बुधबार सहकारी संघर्ष पीडित समितका अध्यक्ष शालिकराम दवाडीले रवि र छबिसहित १० जनाविरुद्ध जाहेरी दिएका छन् । चितवनका प्रहरी प्रमुख गौतम मिश्रले अहिले जाहेरी बारे अध्य्यन भइरहेको बताएका छन् ।

    साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिसकेको छ । ३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो ।

    लामिछानेविरुद्ध पोखरा, रुपन्देही र काठमाडौं जिल्लामा पक्राउ पूर्जी जारी भएकोमा अहिले उनी कास्की जिल्ला अदालतबाट म्याद थप भई प्रहरी हिरासतमा छन् ।

    केही दिनअघि रुपन्देहीमा बयान दिएका लामिछानेलाई काठमाडौं ल्याएर बयान लिने तयारी भइरहेका बेला चितवनमा पनि किटानी जाहेरी परेको हो । प्रहरीले उक्त मुद्दा दर्ता गरेर अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएमा लामिछानेले ४/४ वटा जिल्लामा बयान दिनुपर्ने छ ।

    लामिछानेले कास्की र रुपन्देहीमा बयान दिइसकेका छन् भने काठमाडौंमा ल्याएर बयान लिने अन्तिम तयारी गरिएको छ । अव उनले बयान दिनुपर्ने ठाउँ उनी २/२ पटक निर्वाचित भएको चितवन पनि हुनसक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images