images
images
  • चिनियाँ लगानीमै बन्ने भयो ४३ अर्बको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना, कसले किन्छ बिजुली ?

    काठमाडौं – मनाङमा पहिचान गरिएको १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङदी जलविद्युत् आयोजनामा लगानीको टुङ्गो लागेको छ ।

    ८० प्रतिशत चिनियाँ प्रत्यक्ष वैदेशिक लगानी रहने आयोजनाको यहि शुक्रवार वित्तीय व्यवस्थापन हुने भएको छ । शुक्रबार होटल हायात रिजेन्सीमा फाइनान्सियल क्लोजर हुन लागेको आयोजनाले जानकारी दिएको छ । आयोजनामा ३ चिनियाँ कम्पनीको लगानी हुन लागेको हो ।

    आयोजनामा बुटवल पावर कम्पनीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी हुनेछ । एससीआइजी इन्टरनेशनल लिमिटेड, छिङचेङ इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र क्युवाईसी इन्टरनेशनल लिमिटेडको गरी ८० प्रतिशत सेयर लगानी हुनेछ । त्यो मध्येपनि करिब ५० प्रतिशत सेयर स्वामित्व एससीआइजी इन्टरनेशनलको हुनेछ ।

    भारतले नेपालमा चिनियाँ कम्पनी सामेल भएका जलविद्युत आयोजनाको बिजुली किन्न इन्कार गरिरहेका बेला मनाङ मर्स्याङ्दीमा ठूलो रकम चिनियाँ लगानी आउनुले ठूलै भूराजनीतिक अर्थ बोकेको जानकारहरु बताउँछन् ।

    marsayandi nadi

    नेपाल सरकारको स्वामित्वमा भएको विद्युत प्राधिकरणको ५१ प्रतिशत लगानी रहेको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत भारतले किन्न मानिरहेको छैन । तामाकोशीको सिभिल संरचना निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएककै कारण भारतले सरकारी स्वामित्वको आयोजनाकै बिजुली किन्न अस्वीकार गरिरहेको हो । यस्तो बेलमा चिनियाँ लगानीकर्ताले मर्स्याङ्दी करिडोरमा ६०० मेगावाटका आयोजनामा लगानी गर्ने गरी समझदारी गरिरहेका छन् ।

    त्यो मध्येको पहिलो आयोजना मनाङ मर्स्याङ्दीको फाइनान्सियल क्लोजरमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, चिनियाँ राजदूत चेन सोङ, बुटवल पावर कम्पनीका अध्यक्ष पद्म ज्योतीलगायतको उपस्थिति हुने आयोजनाका अधिकारीहरुले बताएका छन् ।

    निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने गरी २०७९ पुसमा आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ ।

    २०७७ चैत ९ गते विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको यो परियोजना निर्माणका लागि करिब ४३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अर्ध-जलाशय (PROR) प्रकृतिको जलविद्युत् आयोजनाले वार्षिक ७६६.५९३ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images