images
images
  • नेपालकै सबैभन्दा महँगो ठाउँमा मीनबहादुरले बनाउने भए ३५० कोठाको पाँचतारे होटल, ‘अपार्टमेन्ट र भाटभटेनी पनि’

    काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दरबारमार्गमा ३५० कोठाको पाँचतारे होटलसहित अपार्टमेन्ट र भाटभटेनी स्टोर बनाउने भएका छन् ।

    दरबारमार्ग नेपालकै सबैभन्दा महँगो ठाउँ हो । घरजग्गा कारोबारको पीक समयमा त्याहाँ एक आना जग्गाकै १० करोड रुपैयाँसम्ममा कारोबार भएको थियो । अहिले देशभर घरजग्गाको मूल्यमा मन्दी आएको भएपनि दरबारमार्गको जग्गाको माग र महत्व उस्तै छ ।

    त्यहि ठाउँमा व्यवसायी गुरुङले २५ तलाको होटल लगायतका ३ वटा ठूला संरचनाको शिलान्यास गरेका छन् । जसमा भाटभटेनीको स्टोर, अपार्टमेन्ट र पाँचतारे होटल अन्नपूर्ण स्क्वायर रहनेछ ।

    उक्त प्रोजेक्टको लागत ६ अर्ब रूपैयाँ अनुमान गरिएको छ । होटलमा भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहको समेत लगानी रहने बताइएको छ । यसअघि उक्त स्थानमा लामो समयसम्म होटल अन्नपूर्ण सञ्चालनमा रहेको थियो ।

    सोमबार भूमि पूजा गरी कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले होटल निर्माणको सुरुवात गरेका हुन् । सो क्रममा भाटभटेनी सुपरमार्केटका अध्यक्ष समेत रहेका गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा होटल निर्माण थालिएको बताए ।

    निर्माण थालिएको स्क्वायरको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको उनले सुनाए । दुई चरणमा काम सम्पन्न गर्ने योजना रहेको भन्दै उनले १ वैशाख २०८५ देखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको पनि बताए । त्याहाँ होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउने छ ।

    उनका अनुसार २५ तलाको हुने अन्नपूर्ण स्क्वायरमा ९ लाख स्क्वायर फिट क्षेत्रफलमा होटल रहनेछ भने बाँकी क्षेत्रफलमा ४० कोठा अपार्टमेन्ट र भाटभटेनीको एउटा स्टोर रहनेछ ।

    पुरानो संरचना भत्काउने काम भइरहेको र स्थानीय तहले जति छिटो अनुमति दिन्छ त्यति नै छिटो निर्माण अघि बढ्ने गुरुङको भनाइ छ ।

    ३ सय ५० कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गरिने र मूल्य ‘रिजनेवल’ हुने गुरुङले बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images