काठमाडौँ – सुनको भाउ उच्च मूल्यबाट ११ हजार रुपैयाँ घटेको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचितभएसँगै तीव्र गतिमा घट्न थालेको सुनको भाउ दुई हप्ताको अन्तरमा ११ हजार रुपैयाँले घटेको हो ।
यस मध्ये पछिल्लो एक हप्ता अर्थात ट्रम्प निर्वाचित भएपछि मात्रै सुनको भाउ तोलामा ८ हजार ५०० रुपैयाँ घटिसकेको छ ।
अरु दिन सामान्य घटेको सुनको भाउ कात्तिक २२ गते एकै दिन ४ हजार रुपैयाँ, २७ गते २८ सय रुपैयाँ र २९ गते २२ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार बिहीबार सुनको मूल्यमा तोलामा २२ सय रुपैयाँले घटेसँगै प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।
१४ दिन अघि अर्थात कात्तिक १५ गते सुनको मूल्य इतिहासकै उच्च बिन्दु प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
१४ दिनको अन्तरमा मूल्य घट्दा सुनको भाउ एक महिना अघिको अवस्थामा फर्किएको छ । यस अघि असोज २२ गते सुनको मूल्य तोलाको १ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
सुनको मूल्यमा कहिले कहिले आयो १० हजारको उतारचढाव ?
यस अघि यहि भदौ २८ गते सुनको मूल्य प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेको थियो । २०८१ जेठ १६ गते १ लाख ४० हजार रुपैयाँ, २०८० चैत्र १८ गते १ लाख ३० हजार रुपैयाँ, २०८० फागुन १८ गते १ लाख २० हजार रुपैयाँ र २०८० मंसिर ७ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ रहेको थियो ।
घट्दा कतिसम्म घट्नसक्छ ?
विगतको इतिहास हेर्ने हो भने सुनको ५० प्रतिशतसम्म बढ्दा ३०/३५ प्रतिशतसम्म घटेको पाइन्छ ।
पछिल्लो मूल्य वृद्धि १ लाख २० हजारबाट १ लाख ७० हजार रुपैयाँ पुग्दा ठिक ५० प्रतिशतले वृद्धि भएको छ । बिगत ट्रेन्ड फ्लो भएको खण्डमा यो मूल्य ३० प्रतिशतसम्म घट्न सक्ने जानकारहरु बताउँछन् । यदि उच्च मूल्यबाट सुनको भाउ ३० प्रतिशत घट्यो भने नेपाली बजारमा पुन: सुनको मूल्य तोलाको १ लाख २० हजार आसपासमा आउन सक्ने देखिन्छ ।
तर, इतिहास सधै दोहोरिन्छ भन्ने छैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको उपस्थिती कति बलियो वा कमजोर हुन्छ भन्ने कुराले सुनको मूल्यलाई प्रतक्ष प्रभाव पारिरहेको हुन्छ ।
अहिलेको ट्रेन्ड हेर्दा सजिलै सुनको भाउ तोलाको १ लाख ५० हजार रुपैयाँभन्दा तल आउने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्