काठमाडौं – कीर्तिपुर नगरपालिकाको मेयरमा दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिने घोषणा गरेका छन् । कविकुमार महर्जन र राजमान मानवले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कविकुमार महर्जनले आफ्नो सम्पर्क कार्यालय नै स्थापना गरेर घरदैलो कार्यक्रम समेत सुरु गरिसकेका छन् । उनले कीर्तिपुरलाई समुन्नत सहर बनाउन आफ्नो विकल्प नभएको भन्दै मतदातासँग भोट मागिरहेका छन् ।
शनिवार बिहानै घरदैलोमा निस्किएका कविले आफू निर्वाचित भए स्वतन्त्र र निष्पक्षरुपमा कीर्तिपुरवासीको सेवा गर्ने बताए । अहिले देशभर स्वतन्त्र उम्मेदवारले राम्रो काम गरिरहेकाले आफ्नो जित सुनिस्चित भएको महर्जनले दाबी गरे ।
कीर्तिपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सरसफाइ अभियान्ता राजमान मानवले सडकको फोहोर बढारेको धेरै भइसकेको भन्दै अव राजनीतिक फोहोर बढार्ने पालो आएकाले मेयरमा उम्मेदवारी दिने बताए ।

उनले आफ्नो अभियानका कारण सिंगो नेपालीले चिनेको भन्दै सबै राजनीतिक दलहरु एकजुट भएर आफूविरुद्ध चुनाव लडेमा पनि विजयी हुने दाबी गरेका छन् ।
तर, कीर्तिपुरका स्थानीहरु हरु भने दुई जना राम्रा स्वतन्त्र उम्मेदवार मैदानमा आउँदा फेरि पनि पुरानै राजनीतिक दलले फाइदा उठाउँछन कि भन्ने चिन्तामा छन् ।
कीर्तिपुरका मतदाता नविन महर्जन स्वतन्त्र व्यक्ति आउँदा राम्रो हुने भएपनि दुई जना स्वतन्त्र हुँदा फेरि पनि राजनीतिक दलले नै फाइदा लिन्छन् कि भन्ने डर आफूलाई रहेको बताउँछन् ।
कीर्तिपुरमा नेकपा एमालेले सुरेन्द्र मानन्धर, नेकपा माओवादीले प्राध्यापक डाक्टर शिवशरण महर्जन र राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उम्मेदवार बनाउने टुंगो लगाएका छन् । नेपाली कांग्रेसले भने मेयर उम्मेदवार टुंग्याइसकेको छैन ।
कीर्तिपुरमा यहि मंसिर १६ गते मेयरको उपचुनाव हुँदैछ । कीर्तिपुरमा मेयर निर्वाचित राजकुमार नकर्मीको मृत्यु भएपछि त्याहाँ उपनिर्वाचन हुन लागेको हो । नकर्मी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।






















