काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० का अनुसार बाढीपहिरोबाट निर्माणाधीन १६ वटा र विद्युत् उत्पादन भइरहेका १० वटा आयोजनामा क्षति पुगेको छ । इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बुधबार बेलुका आठ बजेसम्म दुई दर्जनभन्दा धेरै जलविद्युत् आयोजना प्रभावित भएको बताए ।
‘बाढी पहिरोको कारण दोर्दी कोरिडोर, मस्र्याङ्दी कोरिडोर र मादी कोरिडोरमा निर्माणाधीन तथा निर्माण सकिएका धेरैजसो जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘प्रारम्भिक चरणमा सबा दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरेका छौं । अझै पनि सबै ठाउँबाट क्षतिको विवरण आइसकेको छैन ।’
इप्पानका अध्यक्ष आचार्यले बाढीपहिरोबाट निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, उपकरण, जलविद्युत् आयोजनाको ड्याम, सुरुङलगायतका संरचनामा क्षति पुगेको बताए । ‘भौतिक क्षति निकै भएको छ । मानवीय क्षतिबारे भने केही खबर आएको छैन,’ उनले भने ।
बाढीपहिरोले विभिन्न ठाउँमा सडकमा समेत क्षति पुर्याएको छ । दुई दर्जनभन्दा बढी ठाउँको सडकमा क्षति पुगेको छ भने एक दर्जनभन्दा धेरै पुल भत्किएका छन् । यसबाट यातायात अवरुद्ध हुन पुगेको छ । सडक विभागका उपमहानिर्देशक शिव नेपालले सबैभन्दा धेरै क्षति कर्णाली राजमार्ग र सिद्धार्थ राजमार्गमा भएको बताए । उनले भने, ‘विभागले सम्भव भएका ठाउँमा अवरुद्ध सडक खुलाउन प्रयास गरिरहेको छ । अहिलेसम्म कुन सडकमा कति क्षति भयो, यकिन तथ्यांक संकलन गर्न सकेका छैनौं । तर पनि अर्बभन्दा बढी नै नोक्सानी भएको अनुमान लगाउन सकिन्छ ।’
सडक विभागका अनुसार बुधबार बेलुका आठ बजे सम्म ८ वटा सडक खण्डमा अवरोध कायमै छ । विभागले अवरुद्ध राजमार्गका ११ स्थानमा एकतर्फी र तीन ठाउँमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएको जनाएको छ । विभागका अनुसार बाढी पहिरोका कारण साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड, डुम्रे–बेसीसहर–चामे सडक खण्ड, साँफेबगर–हड्डेखोला–रिला सडक खण्ड, बेलहिया–भैरहवा–बुटवल–बर्तुङ खण्ड, तानसेन–रिडी–कोरला खण्ड, पाँचखाल–मेलम्ची–टिम्बु सडक खण्ड, पुष्पलाल ९मध्यपहाडी० राजमार्ग, काठमाडौं–धुलीखेल–दोलालघाट–खाडीचौर खण्डलगायतका स्थानका सडक अवरुद्ध भएको छ ।
सडक विभागका प्रवक्ता नेपालले राजमार्गसँग जोडिएका शाखा सडक जभाभावी बनाउँदा बाढीपहिरोले धेरै क्षति पु¥याएको बताए । ‘राजमार्गसँग पहुँच जोड्ने बहानामा प्राविधिक अध्ययनबिनै डोजर चालकले सडक बनाउँदा यो स्थिति आइलागेको हो,’ उनले भने, ‘इन्जिनियरिङ अध्ययनबिनै जभाभावी सडक खन्ने प्रवृत्ति अन्त्य नभएसम्म बाढी पहिरोले सडक भत्काउने क्रम रोकिँदैन ।’
सडक विभागका अनुसार गत वर्ष असारदेखि असोज ९ गतेसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ५३ ठाउँका सडकमा क्षति पुगेको थियो । सबैभन्दा बढी क्षति अरनिको राजमार्गमा पुगेको विभागले जनाएको छ । उक्त राजमार्गमा डेढ अर्बभन्दा बढीको क्षति भएको विभागको भनाइ छ । विभागका अनुसार गत वर्ष बाढीपहिरोको कारण सडक भत्किँदा तीन अर्ब रुपैयाँभन्दा धेरैको नोक्सानी भएको थियो । नागरिक दैनिकबाट


विश्व खबर 



















