काठमाडौं । सोमबार शेयर बजार मापक परिसूचक नेप्से पछिल्लो दुई दिनमा १०५ अंकले घटेको छ । आइतवार ४७ अंकले घटेको बजार सोमवार ५७.९९ अंकले घटेर २६ सय ३९ दशमल ९२ अंकमा झरेको छ ।
बजार घटेको दिन सोमबार ५ अर्ब ९० करोड रुपैयाँको मात्रै कारोबार भएको छ । बजार घट्दासमेत २३ कम्पनीको मूल्य उकालो लाग्यो भने २२१ कम्पनीको मूल्य घटेको छ ।
सोमबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा विन नेपाल लुघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर कारोबार ९.९८ प्रतिशतले बढेर २८६६ रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको पनि ९.८२ प्रतिशतले कारोबार बढेर ९१४.८० रुपैयाँ पुगेको छ ।
समग्र बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा न्यादी ग्रुप पावर छ । यसको शेयर मूल्य ८.८१ प्रतिशले घटेको छ । आज गुडविल फाइनान्सको पनि ५.६५ प्रतिशतले शेयर मूल्य घटेको छ । बाँकी गुमाउने कम्पनीहरुको शेयर मूल्य ४.७९ प्रतिशत भन्दा कमले घटेको छ ।
सोमबार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये ३१९ वटाको १ करोड ३८ लाख कित्ता शेयरको ७२ हजार पटक कारोबार भएको छ ।
सोमवार फाइनान्स समूह ३.३८ प्रतिशतले घट्दा बैंकिङ समूह २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, जलविद्युत २.०४ र जीवन बीमासमूहको शेयर मूल्य २.१५ प्रतिशतले घटेको छ ।
देशको राजनीति तरंगित भएपछि शेयर बजार लगातार दुई दिन घटेको विश्लेषकहरुले बताएका छन् । बजारमा आइतवार ४७ अंक र सोमवार ५८ अंकको गिराटट आएको छ ।























