काठमाडौं-जेठ ३१ गते नेकपा एमालेका संस्थापन पक्षले असार २ गतेभित्र एमालेभित्रको छलफल टुंगो लगाउने र जेठ २ कै पूर्ववत् अवस्थामा पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी गरिएको बताएको थियो । तर सोही दिन नै नेकपा एमालेभित्र सुदृढीकरण भइरहेको बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा साँझ विपक्षी गठबन्धनका नेताहरुसँग पुनः भेट भयो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु नै स्वयम् नेपाल निवास पुगेका थिए । यस भेटले बुढानिलकण्ठको बैठक अब कोटश्वर सरेछ भन्ने जस्ता सामान्य चर्चा जनजिब्रोमा र राजनीतिक वृत्तमा साना–तिना टिका–टिप्पणीहरु बटुल्यो ।
जेठ ३१ गते झण्डै साढे २ घण्टा भएको उक्त छलफलमा ठोस के विषयमा छलफल भयो त ? यस विषयमा विभिन्न समाचारहरु मिडियामा आए । सञ्चार माध्यमहरुले विपक्षी गठबन्धनको निरन्तरता लगायतका विषयलाई निकै प्राथमिकतामा राख्यो । तर, मिडियामा जे जसरी कोटेश्वर निवासको समाचार बाहिरिएपनि केही सञ्चारमाध्यमहरुले यसलाई नेताहरुको सामान्य भेटघाट मात्र रहेको पनि बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ २३ गते पार्टी एकताका लागि ३ बुँदे प्रस्ताव आव्हान गरेसँगै एमालेमा सकारात्मक तरंग उत्पन्न भएको छ । प्रदेश नम्बर ३ मा अर्थात् बाग्तमती प्रदेशमा पनि नेपाल पक्षका अष्टलक्ष्मी शाक्य र ओली पक्षक डोरमणि पौडेलबीचको सहमतिले केन्द्रमा पनि पार्टी एकताका लागि दबाब दिइएको छ । र यसैसँगै पार्टी अध्यक्ष ओलीले जेठ २ गतेकै पूर्ववत् अवस्थाको स्थायी कमिटी बैठक बोलाउने तयारी गर्न लागेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् । यस्तै पार्टी एकताका लागि निरन्तर छलफलमा जुट्दै आएका एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पनि पार्टीभित्रको छलफल सकारात्मक दिशामाअघि बढेको बताएका छन् । पार्टीको संस्थापन पक्षले असार २ गतेभित्रै पार्टीको छलफलबारे टुंगा् लगाउने समेत बताएका थिए ।

यस्तै नेपाल पक्षका सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, योगेश भट्टराई र घनश्याम भुषाल लगायतका नेताहरु पार्टी विभाजनको पक्षमा छैनन । यी यस्ता खाले घटनाक्रम अहिले एमाले एकताको फाउन्डेसन हो ।
तर, एकताको ठ्याक्कै फमूर्ला र यसको प्रयोग कसरी गर्ने भन्ने बारे नेताहरु अझै निक्र्यौल हुन सकेका छैनन् । २०७५ जेठ २ को बटमलाइनमै पार्टी अध्यक्ष ओलीले बैठक बोलाउने तयारी गरेसँगै पार्टीमा नयाँ ऊर्जा थपिएको छ तर नेपाल पक्षको निरन्तर विपक्षी गठबन्धनको भेटवार्ता र विभिन्न छलफलहरुले भने पुनः प्रश्न चिन्ह खडा गर्ने गरेको छ ।






















